बालेनको सम्पर्क कार्यालय तोडफोड नभएको जिप्रकाबाट प्रष्ट
SamacharDesk – बिराज | २०८२ माघ २४, शनिबार
जिल्ला प्रशासन कार्यालय झापाले सामाजिक संजालमा देखिए जसरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन साहको सम्पर्क कार्यालयको तोडफोड नभएको जनाएको छ ।
आज जिप्रका झापाले आज (शुक्रबार) एक विज्ञप्ती जारी गर्दै एआईबाट वास्तविक घटना स्थिती भन्दा फरक गम्भीर प्रकृतिको तोडफोड भएको देखिने तस्वीर बनाई सामाजिक संजालमा भ्रामक सूचना फैलाइएको जनाएको छ ।
कार्यालयले उक्त भ्रामक सूचना फैलाउने व्यक्ति वा समूहको पहिचान गरी कारवाही गर्न सम्वन्धित निकायमा लेखी पठाइसकेको पनि जनाएको छ ।
झापा निर्वाचन क्षेत्र नम्बर ५ कमल गाउँपालिका वडा २ स्थित क्याम्पा बजारमा बालेन साहको सम्पर्क कार्यालयमा तोडफोड भएको भनी अहिले सामाजिक संजालमा एउटा फोटो भाइरल बनेको छ ।
जिप्रकाका अनुसार गत २१ गते राती १२ः१५ बजेतिर साहको सम्पर्क कार्यालय रहेको घरको दक्षिणतर्फ घरधनी बसोबास गर्दै आएको कोठाको झ्यालको सीसा ढुङ्गा हानी फुटाइएको थियो ।
भ्रामक समाचार प्रचार प्रसार गर्ने जोसुकैलाई प्रचलित कानुन बमोजिम कारवाही गरिने जिप्रकाले जनाएको छ ।





