arin enterprises

दोश्रो राष्ट्रिय पाककला चुनौती प्रतियोगीता हुने

SamacharDesk – बिराज | २०८३ बैशाख २४, बिहिबार

नेपालमा दोश्रो राष्ट्रिय पाककला चुनौती प्रतियोगीताको आयोजना हुने भएको छ ।

इन्टरनेशनल नेपाली सेफ सोसाइटी र नेपाली सेफ सोसाइटीले संयुक्त रुपमा दोश्रो पाककला प्रतियोगीताको आयोजना गर्न लागेको हो ।

आगामी मे १५ र १६ (जेठ १ र २) गते पाथीभरा क्युलिनरी आर्ट कलेज दमक, झापामा उक्त प्रतियोगीता हुनेछ ।

कार्यक्रममार्फत नेपाली पाककलालाई व्यावसायिकता, नवप्रवर्तन तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमतातर्फ उन्मुख गराउने लक्ष्य राखिएको छ ।

नेपाली खानाको मौलिकता, विविधता तथा सांस्कृतिक पहिचानलाई संरक्षण गर्दै अन्तर्राष्ट्रिय स्तरमा प्रवर्ध्दन गर्ने उद्देश्यका साथ प्रतियोगीताको आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।

कार्यक्रममा नेपालका सातै प्रदेशका मौलिक तथा रैथाने खानाको खोज, अनुसन्धान, संरक्षण तथा प्रवर्ध्दनमा विशेष जोड दिइने बताइएको छ । विभिन्न भौगोलिक क्षेत्रका लोपोन्मुख तथा परम्परागत परिकारहरूलाई एकै थलोमा प्रस्तुत गरिनेछ ।

‘आधुनिक कूलिनरी प्रविधि र परम्परागत स्वादबीच सन्तुलन कायम गर्दै नयाँ पुस्ताका शेफहरूलाई सिर्जनशीलता र नवप्रवर्तनतर्फ प्रेरित गर्ने उद्देश्य हामीले लिएका छौँ’ इन्टरनेशनल नेपाली सेफ सोसाइटीका केन्द्रीय अध्यक्ष अरुण अधिकारीले बताए ।

५० भन्दा बढी स्टलहरू रहने फेस्टिभलमा स्थानीयदेखि अन्तर्राष्ट्रिय स्तरका विभिन्न परिकारहरूको स्वाद लिन सकिने आयोजकको दावी छ ।

कार्यक्रममा १० भन्दा बढी देशका अनुभवी अन्तर्राष्ट्रिय शेफहरू निर्णायकका रूपमा सहभागी हुनेछन् । प्रतियोगितामा सहभागिता जनाउन ३ जनाको टिम अनिवार्य गरिएको छ ।

प्रतियोगीतामा प्रथम हुनेलाई एक लाख रुपैयाँ राशीको पुरस्कार दिइनेछ । त्यसैगरी दोश्रो हुनेलाई ७५ हजार रुपैयाँ र तेश्रोलाई ५० हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

Categorized in बिजनेस