एफ.एम. संचालकलाई धरपकड बन्द गर्न माग
SamacharDesk – बिराज | २०८३ बैशाख ३०, बुधबार
रोयल्टी संकलनको नाममा एफ.एम. रेडियो संचालकलाई धरपकड बन्द गर्न माग गरिएको छ ।
रेडियो प्रसारक संघ (अकोराब), रेडियो ब्रोडकास्टर्स फोरम (आरबीएफ) नेपाल र ब्रोडकास्टिङ एशोसिएसन अफ नेपाल (बान) ले संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन् ।
गत बैसाख २५ गते संगीत रोयल्टी संकलन समाजको नाममा भक्तपुर एफ. एम. १०५.४ का संचालकलाई फौजदारी अभियोगमा पक्राउ गरिएको थियो । पक्राउ गरिएका एफ. एम. संचालकलाई जिल्ला अदालत भक्तपुरले साधारण तारेखमा रिहा गरिसकेको छ ।
‘ऐन कानुनको गलत व्याख्या गरी, व्यापारिक एजेन्ट परिचालन गरी, रेडियोकर्मी र सञ्चालकलाई अपराधी करार गर्दै फौजदारी मुद्दा लगाउने, धरपकड गर्ने कार्य निन्दनीय छ र यस्तो असामाजिक कार्य तत्काल बन्द गरियोस्’ विज्ञप्तीमा लेखिएको छ ।
अकोराब, आरबीएफ र बानले सोही विज्ञप्तीमार्फत प्रतिवादीलाई साधारण तारेखमा रिहा गरेकोमा आभार पनि व्यक्त गरेको छ ।
देवानी विषयलाई फौजदारी बनाई त्रसित पार्ने षडयन्त्र तत्काल बन्द हुनुपर्ने माग पनि सोही विज्ञप्तीमार्फत गरिएको छ ।
रोयल्टी संकलनको बारेमा प्रत्यक्ष तथा अप्रत्यक्ष, औपचारिक तथा अनौपचारिक रुपमा संवाद चलिरहेको बेलामा मुद्दामामिला, धरपकडलगायतका गतिविधि तत्काल रोक्न पनि विज्ञप्तीमार्फत सम्वन्धित निकायलाई ध्यानाकर्षण गराइएको छ ।
साथमा संगीत रोयल्टीको ७५ प्रतिशत रकम स्रष्टाले पाउने व्यवस्था सुनिश्चित गर्न पनि माग गरिएको छ ।
विज्ञप्तीमा पारिश्रमिक वापतको रकमको अधिकांश भाग रोयल्टि संकलनको नाममा नीजि संस्थाले पाउने अवस्थालाई परिमार्जन गर्दै ७५ प्रतिशत श्रष्टाले पाउने व्यवस्था गर्न माग गरिएको हो ।

Categorized in राष्ट्रिय




