arin enterprises

रास्वपा थिमिमा न्हुछेरत्न सर्वसम्मत

SamacharDesk – केके मानन्धर | २०८३ जेठ १०, आइतबार

मध्यपुर/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यपुर थिमि नगर समितिमा न्हुछेरत्न मानन्धर सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन् ।

नगर समितिको प्रथम अधिवेशनले मानन्धरको सभापतित्वमा १३ सदस्यीय नगर कार्यसमिति चयन गरेको हो । अधिवेशनले जिल्ला प्रतिनिधि, प्रदेश प्रतिनिधि तथा महाधिवेशन प्रतिनिधिहरू समेत चयन गरेको हो ।

नगर उपसभापतिमा उषा प्रजापति, सचिवमा मुरारी नेपाल तथा सहसचिवमा बोध कुमार भण्डारी निर्वाचित भएका छन् ।

सदस्यहरूमा चन्द्र भक्त श्रेष्ठ, रिता खनाल, राजेन्द्र चक्रधर, महेश्वर श्रेष्ठ, समिर पौडेल, प्रविना कायस्थ, सलिना कार्की र सजिना प्रजापति रहेका छन् । दलित महिला सदस्य भने पछि मनोनित गरिने जनाइएको छ ।

त्यसैगरी जिल्ला प्रतिनिधिमा सुस्मिता श्रेष्ठ, संयम कोइराला र सुरज श्रेष्ठ चयन भएका छन् भने प्रदेश प्रतिनिधिमा राजेश उप्रेती र राधाकृष्ण श्रेष्ठ चयन भएका छन् ।

अधिवेशनको लागि निर्वाचन समिति संयोजकको जिम्मेवारी पाएका अमिर न्यौपानेले महाधिवेशन प्रतिनिधिमा उज्वल श्रेष्ठ र हेमन्त राज बराल चयन गराएका हुन् ।

हाल मध्यपुर थिमिमा रास्वपाका ५९८ सक्रिय सदस्य रहेका छन् । नगरका ८ वडामा अधिवेशन सम्पन्न भइसकेको र एउटा वडामा तयारी भइरहेको जानकारी बताइएको छ ।

कार्यक्रममा सभापति मानन्धरले प्रस्तुत गरेको “मभन्दा हामी: समृद्ध मध्यपुर निर्माण” शीर्षकको प्रतिवेदनमा मौलिकता र आधुनिकतालाई जोड दिँदै योजनाहरू अघि सारिएको छ ।

ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक महत्व बोकेको पुरानो बस्ती क्षेत्रमा मौलिक शैली संरक्षण गर्ने तथा नयाँ बस्ती क्षेत्रमा योजनाबद्ध, एकीकृत र पैदलमैत्री विकास अवधारणा अघि बढाइने उल्लेख गरिएको छ ।

त्यस्तै स्थानीय उत्पादन प्रवर्ध्दन, रोजगारी सिर्जना, कला–संस्कृति, सम्पदा र पर्यटनलाई अर्थतन्त्रसँग जोड्न “लाइभ कल्चर इन अडिटोरियम” अवधारणा विकास गर्ने योजना पनि प्रस्तुत गरिएको छ ।

साथै रात्रीकालीन पर्यटन, खानेपानीको समुचित वितरण, कृषि, वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन, स्वास्थ्य सेवा विस्तार, प्रशासनिक सुधार, सुशासन, शिक्षा तथा सामाजिक सुरक्षाका विषयलाई प्राथमिकतामा राखिएको छ ।

Categorized in राजनीति