ट्राभल तथा टुर व्यवसायीलाई कर र कानुन सम्बन्धी तालिम
SamacharDesk – बिराज | २०८३ आषाढ १९, शुक्रबार
काठमाडौं । ट्राभल र टुर एजेन्सीहरुलाई काठमाडौंमा कर र कानुनी अनुपालनासम्बन्धी तालिम दिइएको छ ।
नेपाल पर्यटन बोर्डको आयोजना र सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स (सोट्टो) नेपालसँगको सहकार्यमा काठमाडौंमा दुई दिने तालिम बिहीबारदेखि सुरु भएको हो ।
तालिममा विभिन्न ट्राभल तथा टुर एजेन्सीका ५० जना व्यवसायीहरुको सहभागिता रहेको छ ।
तालिममा विभिन्न प्रकारका करहरु, पर्यटन क्षेत्रमा लागू हुने करहरु, कर तिर्दा ध्यान दिनुपर्ने विषय, कानुनले प्रदत्त गरेको व्यवस्था र पालना गर्नुपर्ने कानुनी एवं अन्य व्यवहारिक पक्षहरु लगायत विषयमा एजेन्सीका प्रमुख एवं प्रतिनिधिहरुलाई तालिम दिइएको छ ।
सोट्टो नेपालका अध्यक्ष मान बहादुर शाहीले व्यवसायीले करका विषयमा बेहोर्नुपरेको झन्झटलाई निवारण गर्न आवश्यक ज्ञान प्रदान गर्ने उदेश्यले एजेन्सीहरुलाई तालिम दिइएको बताए ।
‘कर कानुनमा हरेक वर्ष परिवर्तन हुन्छ, तथापि करका आधारभुत सिद्धान्त स्थिर रहने भएकाले यससम्बन्धी ज्ञान व्यवसायको दीर्घकालीनताका लागि उपयोगी हुनेछ । त्यस्तै आर्थिक अनुशासन र पारदर्शिता बढाउन तालिमले सहयोग गर्नेछ’ शाहीको भनाई हो ।
नेपाल पर्यटन बोर्डले कर भुक्तानी प्रक्रियाबारे हुने अज्ञानता वा लापरबाहीले कडा जरिवाना भोग्नुपर्ने अवस्था आउने उल्लेख गर्दै यसबाट सचेत रहनुपर्ने जनाएको छ ।
विभिन्न फरक–फरक सेसनमा फरक–फरक विषयमा पर्यटन व्यवसायीलाई तालिम दिइएको छ । आज (शुक्रबार) तालिमको समापन गरिनेछ ।
बोर्डले सोट्टो नेपालसँगको सहकार्यमा नै आगामी महिना आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी पनि एजेन्सी एवं पर्यटन व्यवसायीलाई तालिम प्रदान गर्ने जनाएको छ ।
Categorized in बिजनेस




