रसुवा बाढीबाट पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोडको क्षति
SamacharDesk – बिराज | २०८३ आश्विन ६, मंगलबार
काठमाडौं । गत भाद्र १० गतेको रसुवा भोटेकोशी बाढी र त्यसपछिको पहिरोबाट नेपालको पर्यटन क्षेत्रमा रु ५२ अर्ब भन्दा माथि क्षति भएको प्रतिवेदन पेश भएको छ ।
५२ अर्ब ६७ करोड ४५ लाख ७६ हजार ५०० बराबरको प्रारम्भिक आर्थिक क्षति भएको प्रतिवेदन क्षतिग्रस्त पर्यटन क्षेत्रको पुनरुत्थान तथा भविष्यमा हुने विपद्का लागि पूर्वतयारीलाई व्यवस्थित बनाउन पुनर्रुत्थानको मस्यौदा तयार गर्ने जिम्मेवारीसमेत सम्बन्धित समितिलाई दिइएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्डको क्यूआरटी संयोजक तथा बोर्डका कार्यकारी सदस्य सहदेव धमला र नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले संयुक्त रुपमा प्रतिवेदन पेश गरेका हुन् ।
कार्यक्रममा पर्यटन क्षेत्रमा परेको प्रभाव तथा पुनरुत्थानसम्बन्धी प्रतिवेदन प्रस्तुति साथै छलफल भएको थियो ।
प्रतिवेदन अनुसार बाढी तथा पहिरोबाट विशेषगरी रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका क्षेत्रमा पर्यटन पूर्वाधार, होटल तथा पर्यटन व्यवसाय, यातायात पहुँच, पदमार्ग र पर्यटक व्यवस्थापनमा ठूलो क्षति पुगेको छ ।
क्षेत्रगत रूपमा सबैभन्दा बढी क्षति होटल व्यवसायमा भएको प्रारम्भिक आंकलन गरिएको छ ।
होटल क्षेत्रमा रु १९ अर्ब ५६ करोड ४ लाख ४८ हजार, वैदेशिक पर्यटन आम्दानीमा रु १४ अर्ब ६० करोड २४ लाख ६४ हजार तथा मानवबल एवं पर्यटक व्यवस्थापनमा रु १२ अर्ब २६ करोड ८४ लाख २४ हजार ५०० बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, सम्पदा तथा पर्यटन पूर्वाधारतर्फ रु १ अर्ब ६६ करोड ४० लाख, सवारीसाधनतर्फ रु १ अर्ब ५१ करोड ४० लाख ८० हजार क्षतिको आंकलन गरिएको छ ।
रेस्टुरेन्टतर्फ रु १ अर्ब ३८ करोड ५० लाख २० हजार र लाङटाङ क्षेत्रमा व्यावसायिक कारोबारतर्फ रु १ अर्ब २७ करोड ६४ लाख ४० हजार बराबरको क्षति भएको आकलन गरिएको छ ।
आन्तरिक पर्यटन राजस्वमा रु १९ करोड ८७ लाख, राफ्टिङ तथा क्याम्पिङ साइटमा रु १५ करोड ५० लाख र ट्रेकिङ ट्रेलमा रु ५ करोड बराबरको प्रारम्भिक क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।
बाढी तथा पहिरोमा १ हजार ११७ जना नेपाली तथा विदेशी नागरिक प्रभावित तथा सम्पर्कविहीन भएको प्रतिवेदनमा उल्लेख छ । तीमध्ये ३१० जनाको सकुशल उद्धार गरिएको छ भने १३ जना सम्पर्कमा आएका छन् ।
हालसम्म ७९४ जना सम्पर्कविहीन रहेकोमा ६०६ जना विदेशी र १८८ जना नेपाली रहेको जनाइएको छ । उद्धार गरिएकामध्ये २५८ पुरुष र ५२ महिला छन् ।
घटना भएको एक घण्टाभित्रै पर्यटक प्रहरी, ट्राभल तथा ट्रेकिङ कम्पनी र कैलाश–मानसरोवर टुर अपरेटरहरूसँग समन्वय गरी खोज तथा उद्धार कार्य सुरु गरिएको पर्यटन बोर्डका वरिष्ठ निर्देशक ऐरले जानकारी गराए ।
ऐरले संकटका समयमा प्रभावकारी समन्वय र शीघ्र प्रतिकार्यका लागि बोर्डमा २४ सै घण्टा सञ्चालन हुने क्राइसिस सेल तथा क्यूआरटीलाई निरन्तरता दिनुपर्ने र त्यसका लागि वार्षिक रु १ देखि ५ करोडसम्म बजेट व्यवस्था गर्नुपर्ने सुझाव दिए ।
बोर्डका कार्यकारी सदस्य तथा निजी क्षेत्रका प्रतिनिधि सहदेव धमलाले वैकल्पिक पदमार्ग तथा यातायात पहुँच शीघ्र सञ्चालनमा ल्याउनुका साथै अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपाल सुरक्षित र पर्यटकका लागि खुला रहेको सन्देश प्रभावकारी रूपमा प्रवाह गर्नुपर्नेमा जोड दिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल ‘गनेस’ ले बाढी प्रभावित क्षेत्रमा अलपत्र परेका पर्यटकको शीघ्र उद्धार तथा क्षतिग्रस्त पर्यटन पूर्वाधारको पुनर्निर्माणलाई सरकारको प्राथमिकतामा राखिएको बताए ।
‘आगामी पर्यटकीय सिजन अघि प्रमुख गन्तव्यमा सुरक्षा, सञ्चार तथा यातायात पहुँच पुनःस्थापित गरिनेछ । यसका लागि पर्यटन बोर्ड तथा निजी क्षेत्रसँगको सहकार्यमा तयार हुने संयुक्त कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै लगिने प्रतिबद्धता म यहाँ व्यक्त गर्न चाहन्छु’ मन्त्री पौडेलले भने ।
कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्द निरौला, सहसचिव तथा शाखा प्रमुखहरू, नेपाल पर्यटन बोर्डका प्रतिनिधि तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो ।
Categorized in बिजनेस




