पर्यटन क्षेत्रको समस्या समाधानमा सरकार लागिरहेको छः मन्त्री प्रजापति
SamacharDesk – बिराज | २०८३ आश्विन ११, आइतबार
काठमाडौँ, ११ असोज । बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले बागमती प्रदेश भित्रको पर्यटन समस्या समाधानका लागि प्रदेश सरकार लागिरहेको बताएका छन् ।
४७औँ विश्व पर्यटन दिवसको अवसरमा बागमती प्रदेश पर्यटन कार्यालयले आयोजना गरेको कार्यक्रममा मन्त्री प्रजापतिले यस्तो भनेका हुन् ।
प्रदेश भित्रका पर्यटन समस्या गहन ढङ्गले अध्ययन गरी यसको समाधानमा सरकार लागिरहेको मन्त्री प्रजापतिको भनाई हो ।
‘बागमती प्रदेशको पर्यटनको विकासका लागि मन्त्रालय अहोरात्र काम गरिरहेको छ । संस्कृति र प्रकृति नेपालको पर्यटन क्षेत्रको मुख्य आकर्षणको क्षेत्र भएकाले यसको संरक्षणमा लाग्नुपर्छ र हामी लागि पनि रहेका छौं’ प्रजापतिले भने ।
उनले उद्योग, पर्यटन, श्रम र यातायात क्षेत्रको समस्या समाधानका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वय हुन नसकेको यस्तो अवस्थामा काम गर्न समस्या भइरहेको उनले बताए ।
मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले नेपाललाई विश्व पर्यटकीय केन्द्रका रुपमा विकास गराउन यस्ता कार्यक्रमले सहयोग पुग्ने बताए ।
नेपालको पर्यटन क्षेत्रलाई अगाडि बढाउने क्रममा विभिन्न समयमा विभिन्न वाधा व्यवधानहरु आइपर्दा समस्या परेको सचिव सुवेदीले बताए ।
मन्त्रालयका अर्को सचिव अनिता निरौलाले वेलनेश पर्यटन र आर्टिफिसियल इन्टलिजेन्सलाई सँगै जोडेर अगाडि बढाए मात्र पर्यटन क्षेत्रबाट मुलुकले समृद्धि हासिल गर्न सकिने बताए ।
नेपाल पर्यटन वोर्ड सञ्चालक समिति सदस्य सहदेव (बिमल) धमलाले बागमती प्रदेशले पर्यटक क्षेत्रमा ५२ अर्बभन्दा बढी क्षति व्यहोरेको बताउनुभयो ।
होटल सङ्घ नेपाल (हान) बागमती प्रदेशका अध्यक्ष रामसुन्दर बकेले भोटेकोशी बाढीपछि नेपालको पर्यटनबारे अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक सन्देश गएको भन्दै यसलाई चिर्न जरुरी रहेको बताउनुभयो ।
पर्यटन कार्यालय बागमती प्रदेशका प्रमुख पवनकुमार पोखरेलले भोटेकोशी बाढीको प्रभाव नेपालको पर्यटन क्षेत्रमा परेको बताउनुभयो ।
नेपाल एशोसियशन अफ ¥याफ्टिङ एजेन्सीज् (नारा)का पूर्वअध्यक्ष शिव अधिकारी, वल्र्ड साइकिलिष्ट क्लब नेपालका पूर्वअध्यक्ष कपिल शाही, संस्कृतिविद सुदर्शनराज तिवारी, अर्जुनमणि दिक्षित, जलवायु विज्ञ ङमिन्द्र दाहाललगायतले आआफ्नो विचार राखे ।
कार्यक्रममा पाटन दरबार क्षेत्रबाट पुल्चोक– कुपण्डोल– माइतीघर–रामशाहपथ– जयनेपाल सडक– नक्साल, टङ्गाल–बालुवाटार– नारायणगोपाल चोक हुँदै धुम्बाहारीसम्म साइकल र्याली गरिएको थियो ।
Categorized in बिजनेस




