पाठक, पौडेल र पोखरेललाई वासु शशी साहित्य सम्मान
SamacharDesk – विजयरत्न | २०८३ आश्विन २२, बिहिबार
यस वर्षको वासु शशी साहित्य सम्मान वरिष्ठ सर्जकहरु हिरण्यकुमारी पाठक, मधुवन पौडेल र डा. बद्री पोखरेललाई दिइने भएको छ ।
वासु शशी स्मृति परिषदले वासु शशी साहित्य सम्मान २०८३ पाठक, पौडेल र पोखरेललाई प्रदान गर्ने निर्णय गरेको हो । परिषद्का अध्यक्ष कालीप्रसाद रिजालको अध्यक्षतामा बसेको परिषदको कार्यसमितिको बैठकले यो निर्णय गरेको हो ।
परिषद्का सदस्य–सचिव प्रद्युम्न जोशीले बताए आगामी २०८३ असोज २७ गते उक्त सम्मान प्रदान गरिने बताए ।
उक्त सम्मानबाट सम्मानित हुने लागेकी सजर्क पाठक विगत पाँच दशकदेखि साहित्य क्षेत्रमा सक्रिय छिन् । उनको मोहचक्र, शूञवत, दूरस्वप्न र अग्निदह (कथाकृति), अव्यक्त र सम्बन्धको चुकुल (कविताकृति) लगायत थुप्रै कृतिहरु प्रकाशित छन् ।
व्यथित काव्य पुरस्कार, छिन्नलता सम्मानसहित पाठक तीन दर्जन सम्मान र पुरस्कारबाट सम्मानित भइसकिन् ।
यसैगरी यात्रा निबन्ध एवम समसामयिक विषयमा लेखहरु प्रकाशित गर्दै आउनु भएका कथाकार मधुवन पौडेल तीसको दशकका चर्चित आख्यानकार हुन् ।
पौडेलका बाँच्नुको विवशता, नलिनी भाउजु, म र मेरो परिवेश, चपाएको दन्त्यकथा, आवतरण र अरु कथाहरु लगायतका कृति प्रकाशित छन् ।
पौडेल मैनाली कथा सम्मान, शंकर कोइराला आख्यान पुरस्कार, मानश्री पुरस्कार लगायत विख्यात त्रिशक्तिपट्ट, गोरखा दक्षिणबाहु चौथो आदिबाट पुरस्कृत र सम्मानित भइसकेका छन् ।
यसैगरी नेपाली भाषा साहित्यमा क्रियाशील सर्जक बद्री पोखरेल अर्थशास्त्र, लैङ्गिक समानता, सशक्तिकरण तथा समावेशी विकाससम्बन्धी विषयहरूमा अनुसन्धानमुलक लेख रचनाहरु प्रकाशित गर्दै आएका छन् ।
सर्जक पोखरेलको म भित्र अर्कै छ (कवितासङ्ग्रह), दश पोका भित्रका पन्ध्र अञ्जुली (यात्रा निबन्धसंग्रह), मेची–काली (निबन्ध संग्रह), अर्को यात्रा अन्टार्कटिका (अनुभवात्मक पुस्तक) लगायतका कृति प्रकाशित भइसकेका छन् ।
Categorized in पेजथ्री




