arin enterprises

५८६ जनामा संक्रमण पुष्टि, रौतहट र महोत्तरीमा मात्रै ३ सय बढिमा संक्रमण

SamacharDesk – विकाश | २०७७ आषाढ ३, बुधबार

नेपालमा आज एकैपल्ट ५ सय बढिमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज ५ सय ८६ जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।

विभिन्न १६ वटा प्रयोगशालामा गरिएको परिक्षणमा देशका विभिन्न जिल्लाका ५ सय ४६ जना पुरुष र ४० जना महिलामा संक्रमण देखिएको मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

आजको थप नयाँ संक्रमित संख्यासँगै नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या ७ हजार १ सय ७७ पुगेको छ । तीमध्ये ६ हजार ६ सय ३८ जना पुरुषहरु छन् भने ५ सय ३९ जना महिला हुन् ।

महोत्तरीमा मात्रै २ सय ३ जनामा संक्रमण देखिएको छ । त्यसैगरी रौतहटमा एक सय २७ जनामा संक्रमण पुष्टि भएको छ ।

कुल संक्रमित जिल्ला संख्या ७३ नै कायम छ ।

कोरोना संक्रमण निको हुनेको संख्या भने एक हजार एक सय ६७ पुगेको छ । पछिल्लो पटक थप ९ जना संक्रमणमुक्त भएर सिराहा र वीरगंजबाट डिस्चार्ज भएका छन् ।

देशभरमा अहिलेम्म पिसिआर विधिबाट १ लाख ४९ हजार ७ सय ७२ र आरडिटी विधिबाट २ लाख ३३ हजार ५ सय ४३ वटा परिक्षण भएका छन् ।

पछिल्लो २४ घन्टामा पिसिआर विधिबाट ६ हजार ३७ र आरडिटी विधिबाट १० हजार २४ वटा परिक्षणहरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभरमा क्वारेन्टाइनमा रहनेको संख्या १ लाख २५ हजार ७ सय ९८ हुँदा आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ५ हजार ९ सय ९० रहेको छ ।

हालसम्म यहाँ कोरोना संक्रमणका कारण २० जनाको ज्यान गइसकेको छ । गत असार १ गते नेपाल मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु हुने महिलाको स्वाब परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको छ ।

Categorized in राष्ट्रिय