arin enterprises

ललितपुर उद्योग वाणिज्य संघमा न्याछ्यंको नेतृत्व

SamacharDesk – बिराज | २०७७ पौष १९, आइतबार

ललितपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष मनोजबहादुर न्याछ्यंले आफ्नो पुर्व प्रतिवद्धता अनुसार नै उपभोक्ता व्यवसायीको हकहितका लागि सक्रिय रहने बताउनुभएको छ ।

संघमा अध्यक्ष निर्वाचित भएको घोषणा पछि संचारकर्मीसँग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष न्याछ्यंले आफुले सार्वजनिक गरेको १९ बुँदे प्रतिवद्धता अनुसार नं अघि बढ्ने बताउनुभयो ।

‘यहि प्रतिबद्धतालाई केन्द्रबिन्दमा राखेर कार्ययोजना बनाइनेछ । सबैको सहभागीतामै कार्ययोजना बनाउँदै त्यसैमा टेकेर अघि बढ्नेछु’ न्याछ्यंले आफ्नो योजना सुनाउनुभयो ।

संघको ४१ औं वार्षिक साधारण सभाको क्रममा गत शनिबार नयाँ नेतृत्वको लागि मतदान भएको थियो । मतदानमा अध्यक्ष पदका लागि न्याछ्यं र भरतलाल जोशी बीच प्रतिस्पर्धा भएको थियो । शनिबार राती घोषणा गरिएको मतपरिणाम अनुसार अध्यक्ष पदमा न्याछ्यंसँगै प्राय पदाधिकारीत पनि उनकै प्यानलबाट विजयी भएका छन् ।

वरिष्ठ उपाध्यक्षमा विश्वराज बज्राचार्य निर्वाचित हुँदा उपाध्यक्ष उद्योगतर्फ सुसन महर्जन, उपाध्यक्ष वाणिज्यतर्फ उसन बज्राचार्य र संस्थागत उपाध्यक्षतर्फ वीरेन्द्रलाल श्रेष्ठ विजयी भएका छन् ।

महासचिवमा रुपकमान महर्जन र कोषाध्यक्षमा स्वतन्त्र उम्मेदवार भूमीनन्दन कमाचार्य निर्वाचित भए ।

कार्यसमिति सदस्यमा उद्योगपाखे राजु महर्जन, सजना श्रेष्ठ, रमेशसिं महर्जन, आपूलाल अवाले, मिलन महर्जन र गुणकेशरी ताम्रकार निर्वाचित भएका छन् । सदस्यमै वाणिज्यतर्फरुपेन्द्रराज शाक्य, विमला शाक्य, शर्मिला श्रेष्ठ जोशी, सुजन बज्राचार्य, महेश श्रेष्ठ, राजेशराज बज्राचार्य र मुकुन्द महर्जन विजयी भएका छन् ।

एशोसिएट क्षेत्रतर्फ सदस्यमा पूर्णबहादुर महर्जन र संस्थागतर्फ नवीनमान श्रेष्ठ भने निर्विरोध निर्वाचित भएका छन् ।

शुक्रबार साधारण सभाको उद्घाटन सत्र सम्पन्न भएको थियो । निर्वाचनले न्याछ्यंलाई आउँदो ३ वर्षका लागि संघको अध्यक्ष चयन गरेको हो । न्याछ्यं यस अघिको कार्यकालमा महासचिव पदमा संघमा सक्रिय थिए ।

निर्वाचनको क्रममा उहाँले सार्वजनिक गर्नुभएको प्रतिबद्धता पत्रमा उपभोक्ता हित संरक्षण ऐन २०७५ को न्योयोचित संशोधनका लागि पैरवी गर्ने, हस्तकला नगरी ललितपुरमा उत्पादन भएका सामग्रीको बेग्लै ट्रेडमार्कमा दर्ता गर्नुपर्ने व्यवस्था मिलाउन पहल गर्ने, हस्तकला ग्रामको अवधारणालाई मूर्त रुप दिन पहल गर्ने, दक्षिण ललितपुर भेगमा कृषि क्षेत्रको विकास गर्ने उल्लेख गरिएको छ ।

त्यस्तै लगानीको लागि व्यावसायिक वातावरण तयार गर्ने, राज्यबाट सिर्जित विभिन्न समस्या हल गर्न सम्बन्धित निकायमा पहल गर्ने, कोरोनाबाट मार परेको अर्थतन्त्र उकास्ने पहल गर्ने विषयमा पनि प्रतिबद्धता पत्रमा भनिएको छ ।

Categorized in बिजनेस