पूर्वी अफ्रिकाको सबैभन्दा पुरानो मानव अवशेष कति पुरानो ?
SamacharDesk – समाचारडेस्क | २०७८ पौष २९, बिहिबार

अफ्रिका महादेशमा पर्ने इथियोपियामा अहिलेसम्मकै सबैभन्दा पुरानो मानव अवशेष सन् १९६० को अन्त्यतिर पाइएको थियो । त्यसयता वैज्ञानिकहरूले सो अवशेषका तल र माथि ज्वालामुखीय भष्मको रासायनिक जाँच गरी त्यसको मिति तोक्ने प्रयास गरिरहेका थिए । होमो सापियन्स प्रजातिको सो अवशेष कति पुरानो हो भन्ने चाहिँ हालसम्म यकिन भइसकेको थिएन ।
हालै नेचर नामक प्रसिद्ध जर्नलमा प्रकाशित ‘एज अफ द ओल्डेस्ट नोन होमो स्यापियन्स फ्रम इस्टर्न अफ्रिका’ शीर्षकको एक अनुसन्धानात्मक लेखमा उक्त अवशेषको मिति तय गरिएको छ ।
दक्षिणपश्चिम इथियोपियाको इस्ट अफ्रिकन रिफ्ट भ्यालीस्थित ओमो किबिश क्षेत्रमा पाइएको उक्त अवशेषलाई ओमो १ नाम दिइएको थियो । पुराना अध्ययनहरूले उक्त अवशेष दुई लाख वर्ष पुरानो भनी दाबी गरेको थियो । तर सो मितिमाथि विवाद भने अझै कायमै थियो ।
क्याम्ब्रिज विश्वविद्यालयको भूगोल विभागका प्राध्यापक क्लिभ ओपनहाइमरको नेतृत्वको वैज्ञानिक समूहले चार वर्ष लगाएर पुनः त्यस अवशेषको मिति तय गरेको छ ।
मध्य प्लेस्टोसिन युगका सबै ज्वालामुखी विष्फोटको मिति तय गर्ने क्रममा सो समूहले ओमो १ अवशेषभन्दा मिलिमिटरमाथिको तह अध्ययन गरी मिति पहिल्याएको थियो ।
त्यस तहको भौगोलिक-रासायनिक विश्लेषण गर्दा दुई लाख ३० हजार वर्ष पुरानो ज्वालामुखी विस्फोटताकाको मिति निस्केको हो । ओमो १ अवशेष सो तहभन्दा तल रहेकोले उक्त अवशेषको मिति दुई लाख ३० हजार वर्षभन्दा पुरानो हुनुपर्ने निष्कर्ष वैज्ञानिकहरूले दिएका छन् ।
साइन्स डेलीबाट
Categorized in विज्ञान-प्रविधी