arin enterprises

१२ वर्षे पचली भैरवको खड्गी सिद्धि जात्रा सम्पन्न

SamacharDesk – राम डंगोल | २०८१ आषाढ १७, आइतबार

हरेक १२ वर्षमा नचाइने काठमाडौंको ऐतिहासिक पचली भैरवको १२ बर्षे खड्गसिद्धि जात्रा (गथु प्याखं) आजबाट सम्पन्न भएको छ ।

भलभल अष्टमीका दिन देवगणहरुको मृत्यु हुने कथन अनुसार हरेक १२ वर्षको विजया दशमीका दिनदेखि शुरु हुने खड्ग सिद्धि जात्रा आइतबार देवगणहरुले लगाउने मुकुण्डो विधिवत रुपमा जलाएपछि जात्रा सम्पन्न भएको छ ।

यस अवसरमा हिजो जात्राको अन्तिम तान्त्रिक नाच दिनभर काठमाण्डौको भोछेँ ननीमा देखाएपछि सिजाः खुवाइएको थियो । यसरी सिजा खुवाएपछि भोछेँ ननीमा देवगणको मृत्यु हुने कथन रहेको छ ।

मृत्यु भएका देवगणहरुलाई विधिपूर्वक पूजा गरेर मानिसहरुले बोकेर मरुटोलको काष्ठमण्डप अगाडि राखेर पानी खुवाइयो । तत्पश्चात ज्याबहालमा रहेको देवघरसम्म मानिसहरुले देवगणलाई बोकेर पु¥याइएको थियो । 

ज्याबहालमा पुर्‍याएका देवगणलाई पुनः मान्छे मर्दा बजाइने बाजा, सिबाजा बजाएर टेकुमा रहेको पचली भैरवस्थानमा लगेर परम्परागत विधिअनुसार पूजा गरिसकेपछि देवगणले लगाउने मुकुण्डोलाई टेकु दोभानमा लगेर जलाइएपछि १२ वर्षे जात्रा सम्पन्न गरेको छ ।

यसपटकको १२ वर्षे जात्राको तान्त्रिक नाच काठमाण्डौको वटु, मरु, इन्द्रचोक, हनुमानढोका, टोखा, ललितपुरलगायतका विभिन्न ठाँउमा प्रर्दशन गरिएको थियो ।

उता भक्तपुरमा पनि नवदुर्गा नाच सम्पन्न भएको छ । हिजो बेलुकी नवदुर्गा देव गणहरुले जलसमाधि लिएपश्चात यो वर्षको नाच सम्पन्न भएको छ । चार महिनाको लागि देवगणले ब्रम्हायणी कुण्डमा गएर जलसमाधि लिने परम्परा छ ।

जलसमाधि लिएपछि आँउदो दशैसम्म भक्तपुरमा नवदुर्गा देवगणको हुँदैन र बडादशैको प्रतिपदादेखि महानवमीसम्म हरेक दिन एकरएक देवीको उत्पत्ति हुने बताइएन्छ ।

Categorized in संस्कृति