arin enterprises

पाहाँचह्रेको तेस्रो दिन असनमा खट जुधाईंदै

SamacharDesk – Ram Dangol | २०८० चैत्र २७, मंगलबार

पाहाँचह्रेको तेस्रो तथा अन्तिम दिन आज असनमा देउता जुधाइंदैछ ।

असनको डवलीमा पहेंलो टोपी, रातो र निलो टोपी लगाएका समूहरु एक आपसमा भेला भई देउता जुधाइन्छ । आज टेबहाल भद्रकाली, वटु भद्रकाली देवीका खट तथा कंकेश्वरी अजिमाको खट धूमधामसँग जात्रा गरी असन चोकमा जम्मा हुने गर्दछ ।

तत्पश्चात टेबहाल भद्रकाली र वटु भद्रकाली अजिमाको खटलाई बीचमा राखी कंकेश्वरी अजिमाको खटले तीन पटक परिक्रमा गरिन्छ । त्यस अवसरमा एक आपसमा तिंप्वाः (बाँसको सिन्का बनाएर बालिएको) एक आपसमा साटासाट गरिन्छ र देउता द्यः ल्वाकेगु (देउता जुधाउने) जात्रा सम्पन्न हुन्छ ।

यसरी देउता जुधाउने भनेर देवीदेवताहरुलाई मिलन गराउनेलाई नै देउता जुधाउने भन्ने गरेको पाइन्छ । यसरी कंकेश्वरी अजिमा, वटु भद्रकाली अजिमा र टेवहाल भद्रकाली अजिमाहरुलाई भेटघाट गराएर जात्रा भव्य रूपमा मनाउने गरिन्छ ।

यस अवसरमा असनवासीका घरका झ्याल झ्यालबाट  देवीदेवताको स्वागतार्थ चटामरी, ल्वंचाःमरी फ्याँकेर हर्ष बढ़ाईं गर्ने गर्दछन् । जात्रा हेर्न धेरै मानिसको असनमा भीड लाग्ने गर्दछ ।

यसबाहेक पाहाँचह्रेको अवसरमा विभिन्न शक्तिपीठका देवदेवीहरुको पनि हर्षाेल्लासपूर्वक जात्रा गरी नगर परिक्रमा गरिन्छ । जसमा नरदेवीकी ङेतमरु अजिमा, टंकेश्वरकी तखती अजिमा, मैती अजिमा, नयाँ बजारकी म्हेपी अजिमा र बाङ्गेमुढाकी न्हेकन्तला अजिमाको पनि छुट्टाछुट्टै जात्रा हुने गर्दछ ।

जात्रा गरेर नगर परिक्रमा गरेपश्चात देवदेवीहरुको खटलाई द्यःछेँ अर्थात देउटाको घरमा लगेर प्रतिष्ठान गरिन्छ र जात्रा सम्पन्न हुन्छ ।

यसैबीच पाहाँचः¥हेको दोस्रो दिन हिजो टेबहालको भद्रकाली, वटु भद्रकाली देवीको खट र कंकेश्वरी देवीको खट टुंडिखेलमा भेला गराई देउता जुधाइएको छ ।

देउता जुधाउँदा टेबहाल वटुका देवीहरूको खटमा चढेर बसेका मानिसहरूको हातमा रहेको बलिरहेको तिंप्वाः साटासाट गरेर देउता जुधाइयो ।

Categorized in संस्कृति