arin enterprises

प्राचीन सभ्यताको नगरी काठमाडौंमा र्‍यापरको नाममा पार्क ?

SamacharDesk – राजेन मानन्धर | २०७९ श्रावण ३०, सोमबार

इतिहासमा पहिले कहिल्यै नभएको जस्तो गैरआदिबासीलाई यसपालिको स्थानीय निकायको चुनावमा काठमाडौंका जनताले मेयरको पदमा जिताएर पठाएको थियो । सबैतिर हर्षोल्लास थियो । एकातिर पुराना नेताहरुले देश बिगारेको आरोप, अर्कोतिर पार्टीहरुले चुनावमा गलत नेता उठाइदिनु अनि प्रत्यक्ष भेटभाट, भाषण र आकर्षक योजना भन्दा फेसबुकमा आएका चर्चाले बालेन्द्र साहलाई काठमाडौं महानगरपालिकाको मेयर बनाइदियो ।

पुरानाहरु असमंजमा थिए तर, नयाँ पुस्ताका युवाहरु एकदम अडिग थिए, विश्वस्त थिए अनि पैरवी गर्दै थिए — ‘पार्टीका मेयरले के गर्यो त ? जे गर्छ बालेनले गर्छ, उसले गर्छ क्या, गर्न त देउ, अब सबै समस्या समाधान हुन्छ ।’

चुनावताका उनले काठमाडौंको फोहरमैला, प्रदुषण, ट्राफिक समस्या तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई विषय बनाएका थिए । ती मुद्दाहरुमा डेग चलाउन नसकेको सबैले देखेकै छ ।

हुन त उ आएको कति नै भयो र ? भन्नेहरु पनि छन् । हो, गर्नलाई समय दिनुपर्छ । तर पाँच वर्षको लागि जनमत पाएर आएको साहले दुइ महिनामा के कति गर्यो भनेर हेर्यो भने उसका आउँदा ४ वर्ष १० महिना कस्तो होला भनेर अनुमान लगाउन सकिन्छ ।

अहिलेसम्मका केही महत्वपूर्ण कुराहरुमा अलिकति ध्यान दिएर मात्र मुल मुद्दामा जानु बेश होला । पहिलो चरणमा उनले फोहरको समस्याको सामना गर्नुपरेको थियो, जुन केशव स्थापित तथा विद्या सुन्दर शाक्यले पनि भोगेकै थियो । यसलाई निकै सुझबुझका साथ ट्याकल गर्न आवश्यक थियो । तर उनले फिल्मी स्टाइलमा त्यहाँ गएर झपारेपछि कुरा बन्नुको साटो बिग्रेको स्पष्ट बुझिन्छ ।

चुनाव प्रचार अभियानमा कतै नबोलेको विषयमा कसैलाई सल्लाह समेत नगरी यति धेरै रकम खर्च गर्ने भन्ने सुनेर अधिकांश जनता निराश भए

उनको अर्को घोषणा महानगरका जनप्रतिनिधिहरुसँगको मिटिङ लाइभ गर्ने भन्ने थियो । सबैको कमजोरी देखाइदिने भनेको यो योजना पनि एक दुइपल्ट लाइभ भएपछि जनताले दुधको दुध, पानीको पानी देख्न पाए । पछि लाइभ नियमित हुन छाड्यो ।

महानगरले माग्न नदिने र फुुटपाथमा पसल राख्न नदिने घोषणा उत्साहवर्धक थियो । साउन १ गतेको सडकका दृष्यहरु धमाधम देखिन थालेदेखि मच्चियो मच्चियो थच्चियो भएको अवस्था छ ।

फोहर धरधनीले नै कुहिने नकुहिने छुट्याउनु पर्छ, नत्र गाडीले फोहर लाँदैन भन्ने मेयरको धम्की आयो । तर भएभरको फोहर प्लास्टिकमा पोको पारेर प्राइभेट कम्पनीको ट्रकमा हाल्ने बाहेक नागरिकहरुले अरु विकल्प पाएन । त्यही फोहर पनि उठाउन समेत नसकेपछि विना गृहकार्य गरिएको धम्कीले पनि कतै माखो मारेन ।

रुटिन अफ नेपाल बन्द नामक फेसबुक पेजलाई एक करोड दिएर पब्जीगेम जस्तो ई स्पोर्ट खेलाउने भन्ने समाचार लीक भएपछि साहले कानूनी उपचार खोज्न गएकोले यसबारे बोल्न उचित भएन ।

अब, असार २५ गते अचानक समाचार आयो — साहले महानगरपालिकाको बजेटबाट १५ लाख खर्च गरेर र्‍याप गायक अनिल अधिकारी (जसलाई यमबुद्ध पनि भनिन्छ) को सालिक बनाउने भयो भनेर । चुनाव प्रचार अभियानमा कतै नबोलेको विषयमा कसैलाई सल्लाह समेत नगरी यति धेरै रकम खर्च गर्ने भन्ने सुनेर अधिकांश जनता निराश भए ।

र्‍याप सुन्ने बानी भएका केही युवाहरु बाहेक अरुले यसलाई निको मानेन । देशभरी प्रवेशद्वार, भ्युटावर र अजिब अजिबका शालिक बनाउने होड चल्यो भनेर सामाजिक सञ्जालमा ट्रोल भइरहँदा पढेलेखेका नौजवान मेयरले लागुपदार्थको दुर्व्यसनी भइ आत्महत्या गरेका र्‍याप गायकलाई बजेट र व्यवस्थापनको मारमा परेको काठमाडौंमा बनाइने शालिकको पहिलो नम्बरमा पार्नुपर्ने कुनै कारण थिएन ।

पहिलो कुरा शालिक काठमाडौंको प्राथमिकता नै हैन । यहाँ दुई हजार वर्ष पुराना कलात्मक मूर्तिहरु बिच सडकमा असरल्ल मिल्काएका छन् । जहाँ भएका धार्मिक आस्थाले भरिएका मूर्तिहरुको समेत संरक्षण भइरहेको छैन, त्यहाँ शालिक किन भन्ने प्रश्न आउनु स्वभाविक हो ।

अब शालिक बनाउने भए काठमाडौंको दुइ सहश्राव्दी लामो सभ्यतालाई चिनाउने कुनै यस्तो व्यक्तिको निर्माण हुनुपर्ने थियो जसका अगाडि कुनै राजनीति र समुदायको विभेदबाट माथि उठेर शीर झुकाओस् ।

यसमा यहाँका समाज सुधारक, परिवर्तनका सन्देशबाहक वा उद्योगपति पनि हुनसक्थ्यो । त्यस्तो व्यक्ति खोज्ने र खोज्नुपर्छ भन्ने सोच समेत पनि मेयरमा देखिएन ।

कलाकारकै सालिक बनाउने भएपनि कुनै पूजनीय सर्जक खोज्न सकिन्थ्यो । आजभन्दा ७७७ वर्ष अगाडि यहाँ अरनिको जन्मेका थिए जसले चीनसम्म गएर आफ्नो कलाकारिता देखाए । यसबिच यहाँ बनाएका यति ठुल्ठुला दरवारहरु, मन्दिरहरु चैत्यहरु, हितिहरुका सर्जकमध्ये कोही पनि शालिक भएर उभिन लायक किन देखेन साहले ?

अब गीत संगीत नै रोजे रे । आजभन्दा ४६२ वर्ष पहिले जन्मेका राजा महिन्द्र मल्ले यही भूमिमा कविता लेखेका थिए । यसबिच यहाँका सर्जकहरु सयौं होइन, हजारौंमा भेटिन्छन् । कोही पनि काम लागेन ? गायनकै कुरा गर्दा पनि उस्ताद सेतुराम श्रेष्ठको नाम लिन सकिन्छ, जसले ११४ वर्ष अगाडि नेपाली गीत पनि ग्रामोफोनमा बज्न लायक छ भनेर देखाए ।

कति जनाको नाम लिने ? मेलवादेवी, कोइलीदेवी, बच्चुकैलाश, शिवशंकर, फत्तेमान वा नारायण गोपाल मध्ये कसैको त नाम सुनेको होला ? उनीहरुले नेपालको संगीतलाई कुन स्तरसम्म पुर्यायो, किन उनीहरुका गीत आज पनि कालजयी भएर रहिरहे भन्ने अन्दाज पनि छ ? को हुन् यमबुद्ध ?

अनिल अधिकारी नाम गरेका गायक सन् १९८७ मा मोरङको सलकपुरमा जन्मेका थिए । उनी काठमाडौं आएर पढे, पछि लण्डन गए, त्यहीँ बिहे गरे । उसका मिक्सटेपहरु, केही एल्बमहरु, केही सिङ्गलहरु, केही साइफरहरु निस्केका छन् र केही गीतमा फिचर्ड आर्टिस्टका रुपमा गीतहरु गाएका छन् । लण्डनमा २०१७ मा उनी आफ्नो बाथरुममा मृत भेटिए र यसलाई आत्महत्या भनियो ।

हिपहप गीत मन पराउने युवावर्गका लागि उनका गीत राम्रा होलान् । फ्यानहरुले आफुलाई मनपर्ने गायकलाई देउतै मान्ला । तर समस्त नेपालकै कुरा गर्दा उनको प्रख्यातीको सीमालाई सम्झनै पर्ने हुन्छ । कति जना ३० वर्ष काटेका, इन्टरनेट नचलाउने, रेडियो मात्र सुन्नेहरुले उनको नाम पनि सुनेको होला ? उनको गीतबाट कसले राम्रो शिक्षा लिए होला, उसबाट प्रेरणा लिएर कति जनाले आफ्नो जीवनलाई सुमार्गमा लगे होला, देश विकास गर्नका लागि प्रोत्साहित भए होलान् ? लागू पदार्थको दुव्र्यसनी भनेर चिनिएका अनि जीवनदेखि हार मानेर आत्महत्याको बाटो रोजेका मानिसको शालिक वा पार्क देखेर यहाँका काठमाडौंबासीले शीर झुकाउनु पर्ने ?

यहाँका कला, संस्कृतिका धनी अनि मिहेनती र सकारात्मक जीवनको आदर्श बोक्ने जनता त्यो पार्कमा के भनेर विचरण गर्ने ? के यी प्रश्नहरुलाई उनका फ्यानहरुले पचाउन पनि सक्ला ? एक जना नेताले आफ्नो छोराको सालिक बनाएर निर्लज्जता प्रदर्शन गरे । यहाँ साहले आफ्नो साथीको शालिक बनाएर त्यही गुण देखाउन खोजे ।

फेरि यहाँ नगरबासीसँग उसको शालिक राख्ने कि नराख्ने भनेर पनि सोधिएन । कसको शालिक राख्ने र सय जनाकै राख्ने भएपनि वरियताक्रमको आधार के हो भनेर पनि खुलाइएन । मेयर र उनी एकै विधाका अनि मेयरका अग्रज वा साथी भएको कारणले मात्र हचुवा भरमा उसको नाम पारिएको भनेर बुझ्न कठिन छैन । के साह आफ्नो साथीको एउटा शालिक काठमाडौंमा ठड्याएर जाउँ भनेर मात्र मेयर भएको हो र ?

अब प्रकृयामा जाऔं

पहिला दशदेखि पन्ध्र लाख रुपैयाँसम्ममा उसको शालिक बनाउने कार्यक्रम भनिएको थियो । समाजमा, सामाजिक सञ्जालमा आलोचना हुनु स्वभाविक थियो । यसले साहको आँखा खोलिदिएन, बरु डिस्टर्ब नगर भन्ने खालको हुँकार भर्न लगायो ।

जनताले शालिक, त्यो पनि आत्महत्या गर्ने मानिसको शालिक काठमाडौंको प्राथमिकतामा पर्दैन, बनाउने भए आफ्नै पैसाले आफ्नै जमिनमा बनाएर राख भनेर सल्लाह दिए । आलोचना शान्त नभएपछि त्यसोभए म मेरै तलबको रकमबाट बनाउँछु भन्ने खालको घुर्की लायो ।

अब जनप्रतिनिधिहरुले तलब भत्ता लिन नपाइने निर्णय पहिल्यै भइसके भन्ने कुरा आएपछि उनी चुप लागे । त्यसपछि केही बेर सामसुम भएको आभास दियो । तर पछि अचानक फेरि मेयरले उनैको नाममा पार्क बनाउन “डेढ करोड” छुट्याएको भने पछि नागरिकहरु फेरि आश्यर्चमा परे ।

डेढ करोड रुपैंया कति जना नागरिकले के के मा कति कति कर तिरेपछि जम्मा हुन्छ भन्ने उसलाई थाहा पनि छ ? १५ लाख खर्च नगर भन्ने जनताको आवाजको विरुद्ध डेढ करोड खर्च गर्न सक्छु भनेर तानाशाही पाराको जवाफ उनले दिए ।

महानगरपालिकाले उसको नाममा पार्क बनाउन वडा नं १६ खुसिबुँ नयाँ बजारमा रहेको जनताले छोडेको ७ रोपनी खाली जग्गामा पार्क बनाउन आर्थिक वर्ष २०७९।८० बाट सो बजेट विनियोजन गरिएको भनेर प्रवक्ताले जानकारी दिएको समाचार आइसकेपछि यसमा जनता अवाक् हुनु बाहेक केही गर्न सक्ने ठाउँ बाँकी भएन ।

बालेन अब कुनै गायक नायक हैन, जनप्रतिनिधि हो । यहाँको जनताले उसलाई उसको गीत मन परेर वा उसको दाह्रीमा लठ्ठिएर भोट दिएको होइन

के अब यहाँका भोट दिने, कर तिर्ने जनता कोही होइनन् ? उनीहरुको काम एकपल्ट चुनाव जितेर आएका मेयरको बेढंगका चटक हेरेर मात्र बस्ने हो त ?

अचम्म लाग्छ, महानगरपालिकामा यति धेरै तह तप्काका संयन्त्रहरु छन् । पाइला पाइलामा विरोध गर्ने वडाअध्यक्षहरु छन् । पार्टीगत गठबन्धन र व्यक्तिगत इबीका कारण सानो भन्दा सानो कार्यक्रम पनि सितिमिति पास हुने अवस्था छैन तर, यस कार्यमा भने सबै पार्टीका सबै उमेरका वडाअध्यक्ष र सदस्यहरुको मिलिभगत देखियो ।

अनि यसका लागि त्यत्रो लडाइ गरेर छुट्याएको खुसिबुँकै जग्गामा किन आँखा गयो भन्ने पनि प्रश्न छ । यसमा सबै वडा अध्यक्षहरु, विशेष गरी सम्बन्धित वडा अध्यक्ष र सो वडाका नारिकहरुको केही पाएरै सहमत भएको स्पष्ट देखियो ।

समाचारमा हामीलाई जानकारी गराएको छैन भनेर बोलेर उहाँहरुले धर पाउनुहुने छैन । हुन त कुल २५ अर्ब ४२ करोडको बजेटमा डेढ करोड त्यति धेरै रकम त होइन । तर यहाँ नैतिकताको कुरा आयो । जहाँ १५लाख रुपैंया खर्च गरेर शालिक बनाउँछु भन्दा जनताले विरोध गरेको र त्यही कारणले उसले आफ्नै तलबबाट बनाउँछु भनेर घुर्की लाएको थियो, त्यहीँ उनले पहिला आफैले लिन्न भनेको १५ लाखको भन्दा १० गुणा बजेट लाजै नमानी छुट्याएको देखेर नागरिकहरुले जिब्रो टोक्नै पर्ने भयो ।

पार्टीका नेताले भन्दा पनि घटिया काम गर्न कसरी सकेको ? पार्टीका नेताहरुले पैसा अपचलन गर्यो भनेर आलोचना गर्नुपर्नेले आफैले यसरी आफ्नो व्यक्तिगत रुचीको विषयमा करदाताहरुको डेढ करोड उडाउनु भनेको कालान्तरमा आफ्नै खुट्टामा बन्चरो हान्नु भन्दा कम प्रत्युत्पादक हुने छैन ।

बालेन अब कुनै गायक नायक हैन, जनप्रतिनिधि हो । यहाँको जनताले उसलाई उसको गीत मन परेर वा उसको दाह्रीमा लठ्ठिएर भोट दिएको होइन, पार्टीका नेताले मेयर जितेर आशातीत काम गर्न सकेन भनेर दिएको हो ।

उसले आफ्नो पुर्ख्याैली छ भने पुर्ख्याैली जग्गामा अथवा त्यो बेचेर त्यसको पैसाले काठमाडौंमा जग्गा किनेर वा यहाँको आफ्नो घरको कम्पाउण्डमा वा आफ्नो घरको कौसीमा आफुलाई मन पर्ने व्यक्तिको सालिक बनाउन पाउँछ । अथवा उसले पाउने तलब सुविधाको पैसा बचत गरेर राखेर त्यसैबाट बनाएपनि जनचासोको विषय नबन्ला । तर यहाँ पचासौं लाख नागरिकले प्रत्यक्ष अप्रत्यक्ष रुपमा तिरेको करको पैसाको सदुपयोगको सवाल छ । यसलाई बालहठ, वा जिद्दीपन वा पागलपनको विषय बनाइनु भएन ।

यसरी कतिन्जेल काठमाडौंमा रजाइँ गर्न सकिन्छ र ? उनका पर्दा पछाडिका सहयोगीहरुले पनि सोच्नुपर्ने भएको छ । स्याल शहर पसेको र कमिलाको प्वाँख उम्रेको जस्तो कुरा हो यो । त्यसमा पनि उनी ऐतिहासिक रुपमा जितेका स्वतन्त्र मेयर हुन् । उसको सफलता भनेको स्वतन्त्र भएर मेयरको चुनाव लड्ने सबैको सफलता हो, उसले राम्रो काम गरे भोलिका स्थानीय चुनावहरुमा सक्षम स्वतन्त्रहरुले चुनाव जित्ने संभावना बढ्छ । अनि उसले काम गर्न नसके, असफल भए वा कुनै नराम्रो काम गरे भने भोलि सक्षम स्वतन्त्र युवाहरुले चुनाव लडेर मेरो शहर म बनाउँछु भन्ने जागरुकहरुको लागि काठमाडौं महानगरपालिकाको ढोका सदाको लागि बन्द हुन्छ ।

Categorized in विचार