arin enterprises

खोकना सम्वन्धि फोटो पत्रकार रञ्जितको पुस्तक सार्वजनिक

SamacharDesk – बिराज | २०८१ फाल्गुण १७, शनिबार

फोटो पत्रकार अनिल रञ्जितको ‘रेजिस्ट्यान्स अफ खोना (खोकना) दि स्ट्रगल अगेन्स्ट ल्यान्ड इन्क्रोचमेन्ट’ पुस्तक सार्वजनिक भएको छ ।

शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले उक्त पुस्तकको विमोचन गरे ।

कार्यक्रममा बोल्दै ललितपुर महानगर प्रमुख महर्जनले खोकनासहित बुंगमति र सुनाकोठीलाई सांस्कृतिक नगर घोषणा गर्न प्रस्ताव गरिसकेको जानकारी दिए ।

नेपाली, नेपाल भाषा र अङ्ग्रेजी गरी तीन भाषामा लेखिएको सो पुस्तक अमेरिकाका मेरिल्यान्ड बस्दै आएका रञ्जितको पहिलो पुस्तक हो ।

लेखक रञ्जितले फास्ट ट्र्याक लगायत खोकनाको विविध विषयलाई लिएर करीब पाँच वर्षको अध्ययनपछि यो पुस्तक तयार पारेका बताए ।

रञ्जितका अनुसार यस पुस्तकमा खोनाको सांस्कृतिक पक्षलाई मात्र नभई ‘दमन’ र ‘हाखः’ जस्ता सामुदायिक आन्दोलन र असार २० धान रोपाईँ प्रतीकात्मक विरोध जस्ता विरोध प्रदर्शनको घटनालाई पनि उजागर गर्ने प्रयास गरिएको छ ।

कार्यक्रममा वर्ल्ड नेवाः अर्गनाइजेसन नेपाल च्याप्टरका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले नेपालमा आदिवासी समुदायले भोगेको व्यापक समस्याबारे जनचेतना जगाउने प्रयास यस पुस्तकमार्फत् गरिएको भनाई राखे ।

जीवन्त चाडपर्व र तोरी तेल उत्पादनका लागि प्रसिद्ध खोकनालाई काठमाडौं–तराई एक्सप्रेसवे (फास्ट ट्राय्क) जस्ता परियोजनाहरूले गम्भीर रूपमा प्रभाव पारेको अध्यक्ष श्रेष्ठको भनाई थियो ।

कार्यक्रममा ललितपुर महानगरपालिका २१ वडाका अध्यक्ष रविन्द्र महर्जन, वर्ल्ड नेवाः अर्गनाइजेसन नेपाल च्याप्टरका पूर्व अध्यक्ष शाक्य सुरेन, स्थानीय अभियानकर्मी असाेज महर्जन, नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ लगायतकाे उपस्थिती थियाे ।

पुस्तकलाई वर्ल्ड नेवाः अर्गनाइजेसन नेपाल च्याप्टरले प्रकाशन गरेको हो ।

Categorized in समाज