arin enterprises

न्यूरोडमा प्रहरीले पसल बन्द गरायो

SamacharDesk – विकाश | २०७७ जेठ २७, मंगलबार

लकडाउनका बीच न्यूरोडमा व्यापारीहरुले खोलेका पसलहरु आज विहान प्रहरीले बन्द गराएका छन् । 

प्रहरीले पसल बन्द गर्न गरेको आग्रह व्यापारीहरुले नमान्दा न्यूरोड क्षेत्रमा केही समय झडपको जस्तै स्थिती बनेको थियो । 

सरकारले चाँडै कुनै विकल्प ल्याउने र अहिलेको अवस्थामा केही धैर्य गरिदिन प्रहरीले अनुरोध गरेको थियो भने व्यापारीहरुले पसल खोल्न पाउनुपर्ने माग राखेका थिए ।

सरकारले लकडाउनको मिति थप्नु बाहेक कुनै विकल्प नदिएको भन्दै व्यापारीहरूले गत २२ जेठको बिहानदेखि पसल खोल्न थालेका थिए । 

व्यापारीहरुले विहानको ११ बजेसम्म पसल खोल्ने गरेका थिए ।

प्रमुख जिल्ला अधिकारीसँगको छलफल अनुसार नै पसलहरु खोल्न थालिएको तर प्रहरीले एक्कासी पसल बन्द गराउन आएको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले बताए ।

प्रहरीले भने आफुहरुलाई माथिबाट आदेश नभएको भन्दै पसल खोल्न दिएका छैनन् । लकडाउनको मोडालिटि परिवर्तन नहुँदै पसल खोल्न नमिल्ने प्रहरीको भनाई छ ।

यसैबीच न्यूरोड, वानेश्वर लगायतका व्यापारीहरुले लकडाउन मात्र थपेर नहुने भन्दै मोडालिटि परिवर्तन नगरिए आन्दोलनमा उत्रने समेत चेतावनी दिन थालेका छन् ।

Categorized in बिजनेस