विभिन्न सम्मानसँगै प्रहरी श्रीमती संघको वार्षिकोत्सव सम्पन्न
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८१ भाद्र ४, मंगलबार

आआफ्नो क्षेत्रमा विशिष्ट योगदान दिने व्यक्तिहरुलाई सम्मान गर्दै नेपाल प्रहरी श्रीमती संघको ४०औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा विभिन्न क्षेत्रमा विशिष्ट योगदान दिने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. भगवान कोईराला, आमा घरकी संस्थापक दिलशोभा श्रेष्ठ र फोटो पत्रकार तथा पर्वतारोही पूर्णिमा श्रेष्ठलाई सम्मान गरिएको थियो ।
सम्मानित सबैलाई प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी, प्रथम महिला राधिका शाक्यले सम्मान पत्र प्रदान गरिन् ।
सोही समारोहमा स्नेह केन्द्र दोलखाका अध्यक्ष सृजना कार्की र दृष्टि फाउण्डेसन नेपाल धनगढी कैलालीका कल्पना भट्टलाई पनि सम्मानित गरिएको थियो । कार्की र भलाई मुख्य सचिव लिलादेवी गड्तौलाले सम्मानपत्र प्रदान गरिन् ।
साेही कार्यक्रममा सम्मानित हुने मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी, नेपाल पुलिस क्लबका राष्ट्रिय भलिबल खेलाडी उषा भण्डारी र प्रहरी सहायक हवल्दार पवित्रा खड्कालाई प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सम्मानपत्र प्रदान गरे ।
कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले संघले गरी आएका सामाजिक, परोपकारी एवम् मानव कल्याणकारी कर्महरूलाई आगामी दिनमा अझ निस्वार्थ भावले निरन्तरता दिन दृढ रहेको बताइन् ।
सोही समारोहमा संघका पदाधिकारी तथा सदस्यहरुबाट सहचरी गीत प्रस्तुत गरिएको थियो । साथमा संघ र प्रदेशबाट गरिएका विभिन्न कार्यक्रम र गतिविधि समेटिएको वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो ।
साथमा संघबाट प्रकाशित वार्षिक स्मारिका “सहचरी २०८१” को विमोचन समेत गरिएको थियो ।
Categorized in समाज