arin enterprises

प्रदर्शन रोक्न ट्रक चालकहरुलाई प्रधानमन्त्रीको आग्रह

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ माघ २६, बुधबार

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ट्रक चालकहरूलाई प्रदर्शन रोक्न आग्रह गरेका छन् ।

क्यानडामा कोभिड १९ विरुद्धको खोप अनिवार्य गरेको विषयमा ट्रक चालकहरुले प्रदर्शन जारी राखेको बेला प्रधानमन्त्री ट्रुडोले यस्तो आग्रह गरेका हुन् ।

ट्रुडोले हरेक क्यानाडेलीलाई प्रदर्शन गर्ने अधिकार भएको तर देशको अर्थतन्त्र र लोकतन्त्र ठप्प पार्ने अधिकार भने नभएकोले यो प्रदर्शन रोकिनैपर्ने बताएका छन् ।

क्यानडेली सरकारले ट्रक चालकहरूलाई कोभिड–१९ विरुद्धको खोप अनिवार्य गरेपछि गत महिनादेखि ट्रक चालकहरूले प्रदर्शन सुरु गरेका थिए ।

अहिले भने क्यानाडाको राजधानी ओटावामा ट्रक चालकहरुले प्रदर्शनको स्वरुप परिवर्तन गरी लगातार रुपमा हर्न बजाउनुका साथै चर्को आवाजमा साइरन बजाउने र पटाका पड्काउने गरेका छन् ।

ट्रक चालकहरूले संसद भवन वरपर सडकमै टेन्ट राखेर गाडी पार्क गर्दै राजधानी ओटावा ठप्प बनाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

त्यस्तै प्रदर्शनकारीहरुले चोरीसमेत गर्नुका साथै सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्‍याएको जनाइएको छ । ट्रुडोले प्रदर्शनका क्रममा भएका गतिविधिले आफू आश्चर्यमा परेको भनेका छन् ।

केहि दिन अघि मात्रै प्रदर्शन हिंसात्मक र अनियन्त्रित बन्दै गएको भन्दै सरकारले ओटावामा संकटकालको घोषणा गरेको थियो ।

क्यानडामा ट्रक चालकको संख्या एक लाख २० हजार रहेको र करीब ९० प्रतिशतले कोभिड १९ विरुद्धको खोप लगाइसकेको तथ्याङ्क छ ।

Categorized in अन्तर्राष्ट्रिय