नगदेशमा १२ वर्ष पछि पुलुकिसि जात्रा
SamacharDesk – बिराज | २०८१ माघ २८, सोमबार

मध्यपुर थिमिको नगदेशमा १२ वर्ष पछि फेरी पुलुकिसि जात्रा सुरु गरिएको छ ।
प्राविधिक लगायत विभिन्न कारणले १२ वर्षसम्म रोकिएको पुलुकिसि जात्रा हिजो भीमा द्वादशीको दिनबाट फेरी सुरु गरिएको हो । स्थानीय युवाहरुको सक्रियतामा यो जात्राले पुनर्जीवन पाएको हो ।
यो जात्रा स्वस्थानी व्रत कथामा आधारित छ । गोमाका सुपुत्र नवराज लावण्य देशको राजा हुने कथा स्वस्थानी व्रत कथामा उल्लेख गरिएको छ ।
लावण्य देश राजाविहीन रहेको अवस्थामा हात्तीलाई कलश बोकाई राजा छान्न लगाइन्छ ।
त्यहि समयमा हरिहरको वरदान पाएका ब्राह्मण पुत्र नवराज लावण्य देश पुग्छन् र हात्तीले नवराजलाई देख्ने वित्तिकै आफुले बोकेको कलशले अभिषेक गराई राज छान्ने कथा स्वस्थानी व्रतकथामा सुनाइने गरिन्छ ।
यहि कथा नगदेशको पुलुकिसि जात्रामा पनि देखाउने गरिन्छ ।
यस जात्रामा योग्य वर वा योग्य पत्नीको कामना गर्दै युवायुवतीहरु व्रत बस्ने परम्परा पनि रहेको छ ।
जात्राको क्रममा बाजागाजासहित उत्सव मनाउँदै पुलुकिसि (हात्ती) निकालिन्छ र नवराजको राज्याभिषेककै दृश्यलाई चित्रण गर्ने गरिन्छ ।
नवराज बनेका पात्र पुलुकिसिमा चढ्दै विभिन्न परम्परागत बाजागाजासहित मध्यपुर थिमिका विभिन्न स्थानमा परिक्रमा गराउने गरिन्छ ।
हालको शंखरापुर अथवा साँखुलाई विगतको लावण्य देश भएको विज्ञहरु बताउँछन् ।
नवराजलाई भक्तपुरको ब्राह्मण भएको दावी पनि गरिएको छ ।
तत्कालीन समयमा नवराज आफु ब्राह्मण भएकोले क्षेत्रीहरुको तलेजु प्रयोग नगरी आफ्नै छुट्टै तलेजु बनाएको बताइन्छ । हालको दत्तात्रयमा रहेको वानेलायकू नै नवराजले बनाएको तलेजु हो भनी विज्ञहरु बताउँछन् ।
आजसम्म पनि वानेलायकूमा नित्य पूजा गर्ने राजोपाध्याय ब्राह्मणहरुले आफ्ना पुर्खाको रुपमा नवराजको नाम लिने गरेको संस्कृतिविद् महेश्वर जुजु बताउँछन् ।
यी विषयवस्तुहरुको विश्लेषण गरी हेर्दा नगदेशको यस जात्राको सम्वन्ध साँखु र भक्तपुरसँग पनि जोडिएको देखिन्छ
Categorized in संस्कृति