जसपा पार्टी नछोड्ने राईको भनाई
SamacharDesk – बिराज | २०७८ फाल्गुण १०, मंगलबार

जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ नेता अशोक राईले आफुले पार्टी नछोड्ने बताउनुभएको छ ।
एमसीसीकै विषयमा पार्टी फुटाउन लागेका बाबुराम भट्टराईसँगै राईलेसमेत जसपा पार्टी छोड्न लागेको भन्ने चर्चा भइरहेको बेला उहाँले समाचारडेस्कसँग कुरा गर्दै आफुले कुनै हालतमा जसपा पार्टी नछोड्ने बताउनुभएको हो ।
आफु अहिले विरामी भएर घरमै आराम गरेर बसेको भन्दै समाचारडेस्कसँग छोटो कुराकानी गरेका राईले जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले पार्टी फुटाउन खोजेको अथवा पार्टीबाट अलग्गिन लागेको भन्ने विषयमा कुनै जानकारी नभएको बताए ।
‘अहिले बाहिर भइरहेको हल्ला, अफवाहको विषयमा मलाई केही थाहा छैन । मैले पार्टी छोड्न लागेको भन्ने कुरामा चाहिँ कुनै सत्यता छैन, म जसपा पार्टी छोडेर कतै जान्न’ राईले भने ।
विगतमा यथास्थितीमा एमसीसी अनुमोदन गर्न नसकिने बताउँदै आएका राईले ‘तपाईँ अहिले पनि यसै कुरामा अडिग हुनुहुन्छ त’ भन्ने समाचारडेस्कको प्रश्नमा ‘हो’ भनी छोटो उत्तर मात्र दिए ।
हाल एमसीसीको पक्ष र विपक्षमा वहश चर्किएको बेलामा जसपा संघीय परिषद अध्यक्ष भट्टराईले एमसीसीको पक्षमा बोल्दै आएका छन् । साथमा भट्टराईले एमसीसी अनुमोदन गराउन पार्टीभित्र बहुमत जुटाउनकै लागि पार्टी फुटाउन खोजेको विषय पनि प्रकाशमा आएको छ ।
जसपा भित्र भट्टराईले निरन्तर रुपमा एमसीसीको पक्षमा बोल्दै आएका छन् भने पार्टी अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता राई र राजेन्द्र प्रसाद श्रेष्ठलगायतका नेताले भने यथास्थितीमा एमसीसी पास गर्न नहुने भन्दै आएका छन् ।
जसपाले एमसीसीलगायतका विषयमा छलफल गर्न आउँदो फागुन १३ गते शुक्रबारका दिन पार्टीको कार्यकारिणी समितिको वैठक बोलाएको छ ।
यो पनि पढ्नुहोला जसपा फुटको संघारमा
Categorized in राजनीति