arin enterprises

यथार्थ के हो ‘राजमति कुमति धाल’ भिडियोको विवाद

SamacharDesk – बिराज | २०७८ जेठ ७, शुक्रबार

राजमति कुमति जिके वःसा पिरती गीत नसुन्ने शायदै कोही नेपाली होला । नेपालभाषामा गाइएको यो लोकगीतालाई त नेपालकै पहिलो राष्ट्रिय गीतको रुपमा समेत दावी गरिएको छ । जङ्गबहादुर राणा बेलायत भ्रमणमा जाँदा नेपालको राष्ट्रिय धुन प्रस्तुत गर्ने बेलामा यहि राजमति कुमती धुन प्रस्तुत गर्न लगाएको ईतिहासविद्हरुले भनेका छन् ।

आजसम्म यो गीत कति जनाले गाए, अथवा भनौं कति जनाले कभर गरे, त्यसको त हिसाबै छैन । राजमतिसँग बिहे गर्नुपर्यो भन्दै पुरुषले गाउने गीत हो यो । पछिल्लो समय यस गीतको फिमेल भर्सनसमेत सार्वजनिक भएको छ ।

राजमति कुमतीको फिमेल भर्सनलाई अगिना तण्डुकारले गाएकि छन् भने वरिष्ठ निर्देशक पवन जोशीले गीतको रचना र उक्त गीतको म्यूजिक भिडियोको निर्देशनसमेत गरेका छन् । गीतले राम्रै लोकप्रियता कमायो । हाइलाइट्स नेपालको युट्युब च्यानलमा यस गीतको भ्यूज ३ लाखको नजिक पुगिसकेको छ ।

करीब ८ महिना अघि सन् २०२० अक्टोबर २९ का दिन सार्वजनिक भएको यो गीत अहिले फेरी चर्चामा छ ।

अर्को एउटा समूहबाट यहि गीतको अर्को भिडियो बनेर सार्वजनिक भएपछि गीतको मौलिक सर्जकहरु असन्तुष्ट भएका छन् । राजमति कुमति फिमेल भर्सनको सर्जक समूहले अनुमति बिना नै गीतको पुनर्निर्माण गरी प्रदर्शनमा ल्याएको भन्दै प्रेस विज्ञप्ती नै प्रकाशन गरेपछि गीतको यस सम्वन्धि विवाद चर्किएको थियो ।

‘हाम्रो लगानीमा निर्माण भएको उक्त राजमति कुमती छ महिना पहिल्यै हाइलाइट नेपाल युट्युब च्यानलमार्फत प्रसारण भएको सर्वविदितै छ । अनुमति बिना उक्त गीतलाई पुनः निर्माण गरी प्रदर्शनमा ल्याएको हुँदा सम्वन्धित निकायले तुरन्तै बन्द गर्न लगाउन माग गर्दछु’ विज्ञप्तीमा लेखिएको छ ।

रचनाकार, निर्देशक जोशी र गायिका तण्डुकारको साथै गीतका छायाङ्कार र दृश्य सम्पादक राजेश शाक्य, निर्माता भाईराजा जोशीले संयुक्त विज्ञप्ती जारी गर्दै प्रतिलिपि नियम कानूनलाई पालना गराउन माग गरेका थिए ।

विज्ञप्ती जारी भए लगत्तै गीतको अर्को भिडियो भने युट्युबबाट हटिसकेको छ । काजी प्रोडक्सन युट्युब च्यानलमा अपलोड भएको उक्त भिडियो अहिले च्यानलबाट हटाइएको छ भने फेसबुकबाट समेत हटाइसकेको छ ।

त्यो गीत आफु र छोरीहरुलाई सारै मनपर्ने र लडकउनमा रमाइलो गर्नका लागि मात्र उक्त भिडियो बनाएको शान्ता प्रजापतिले बताइन् ।

‘त्यो गीत हामीले मोबाइलबाट घरभित्रै सुटिङ गरेर बनाएका थियौं । त्यस्तो किसिमले सोचिएन, गलती भने भएको हो । अब हामीले भिडियो हटाइसक्यौं’ शान्ता प्रजापतिले भनिन् ।

वरिष्ठ निर्देशक जोशी पनि त्यो गीतमा अरुले केही गर्नै नपाइने भन्ने पक्षमा नरहेको तर सर्जकको सम्मान राख्नुपर्ने भन्नुहुन्छ ।

‘कभर गर्दा पनि कम से कम मौलिक सर्जकसँग अनुमति लिने गर्नुपर्छ । एकजना कलाकारले अर्को कलाकारको सम्मान गर्न नसिकाए अरुले कहाँ सम्मान गर्ला र ?’ जोशीको भनाई हो ।

समाचारडेस्कसँग कुरा गर्दै निर्देशक जोशीले सृजना र स्रष्टाको सम्मान राखेर अघि बढ्न सबैलाई आग्रह गर्नुभयो ।

Categorized in पेजथ्री