arin enterprises

नेपालमण्डलमा फेरी रमेश अध्यक्ष

SamacharDesk – बिकाश | २०७७ पौष २६, आइतबार

नेपालमण्डल टेलिभिजनको अध्यक्षमा रमेश महर्जन पुनः निर्वाचित भएका छन् ।

ललितपुरको भोलधोखास्थित ज्यापु समाजको भवनमा सम्पन्न नेपालमण्डल टेलिभिजनको ९ औ साधारण सभाले महर्जनलाई चार वर्षको कार्यकालका लागि पुनः अध्यक्षमा सर्वसम्मतले चयन गरेको हो ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका केन्द्रिय अध्यक्ष समेत रहेका मर्हजन दोश्रो कार्यकालका लागि पुनः अध्यक्षमा चयन भएका हुन् ।

त्यस्तै सभाले संचालक समितिका सदस्यहरूमा उद्योगपतिहरू पद्म ज्योति, दिपक श्रेष्ठ, ध्रुवकुमार श्रेष्ठ, मंगल महर्जन, कुमारराजा महर्जन, सिल्भिया राजोपाध्याय, नातिभाइ महर्जन र शर्मिला महर्जन पनि सर्वसम्मतले चयन गरेको छ ।

नवनिर्वाचित अध्यक्ष महर्जनले आगामी कार्यकालमा नेपालमण्डल टेलिभिजनले देश भित्रको साथै विदेशमा रहेका संघसस्थाहरूसँग मिलेर गुणस्तरीय कार्यक्रम, समाचारहरूको उत्पादन एवमं प्रशारण गर्ने बताउनु भयो ।

सभामा २ वर्ष अघि नेपालमण्डलले टेलिभिजनले आयोजना गरेको कलाकार मनराजा साँगितिक कार्यक्रमबाट उठेको आम्दनीबाट नेपालमण्डल टेलिभिजन श्रस्ता सम्मान कोष पनि घोषणा गरेको छ ।

उक्त कोषको लागि संस्थापक सदस्य एवमं प्रबन्ध निर्देशक प्रकाशकाजी महर्जन, संचालक समितिका सदस्यहरू मंगल महर्जन, शर्मिला महर्जन, सिल्भिया राजोपाध्याय, ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जन, उद्योगपति बाबुराजा महर्जनले रकम प्रदान गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रममा ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जन, सल्लाहकारहरू रामकाजी अबाले, बाबुराजा महर्जन लगायतले नेपालमण्डल टेलिभिजनले समुदायलाई चिनाउन पुयाएको योगदानको प्रशंसा गर्दै सफलताको शुभकामना दिनुभयो ।

२०६८ सालको यःमरि पूर्णिमाका दिन नेवार समुदायको कला, संस्कृति, भाषा, सभ्यता प्रचार प्रसार गर्ने उद्देश्यले नेपालको पहिलो आदिवासी टेलिभिजनको रूपमा नेपालमण्डल टेलिभिजन स्थापना भएको हो ।

Categorized in बिजनेस