arin enterprises

राजसंस्थासहितको हिन्दु राष्ट्रको माग राख्दै राप्रपा सडकमा उत्रने

SamacharDesk | २०८० पौष ३, मंगलबार

राष्ट्रिय प्रजातन्त्र पार्टीले देशभर आन्दोलन गर्ने निर्णय गरेको छ ।

आईतवारबाट बसेको पार्टीको केन्द्रिय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो । पार्टीले राजसंस्था सहितको हिन्दु राष्ट्र पुनः स्थापना र प्रदेश तहको खारेजीको माग राख्दै सडकमा उत्रन निर्णय गरेको हो ।

पुष, माघमा देशभर सभा र तयारीका कामहरु गर्ने पनि निर्णय गरेको छ । फागुन महिनामा मेची महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय गरेको छ ।

त्यस्तै आन्दोलनका लागि पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा केन्द्रिय आन्दोलन मुल समिति गठन गरेको छ ।

डा. धवल शमशेर राणाको संयोजकत्वमा आन्दोलन परिचालन समिति, पार्टीका कोषाध्यक्ष निलकण्ठ काफ्लेको संयोजकत्वमा आर्थिक परिचालन समिति, प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठको प्रचार तथा प्रसार समिति गठन गरेको छ ।

कोषाध्यक्षबाट प्रश्तुत आर्थिक प्रतिवेदन, सचिवालयका प्रतिवेदन लगायत प्रदेश कार्य समितिका प्रतिवेदनहरु परिमार्जनसहित पारित गर्ने निर्णय भएको पनि पार्टी अध्यक्ष लिङदेनले बताउनु भयो ।

उहाँकाअनुसार बैठकले जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्प प्रभावित परिवारहरुलाई तत्काल पालबाट अस्थायी आवासमा स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

बैठकले एनसेल अजियाटाको शेयर बिक्रीमा भएको भ्रष्टाचारको बिरोध गर्दै उच्चस्तरीय छानबिन गर्न माग गरेको छ ।

त्यस्तै रुस युक्रेन युद्धमा होमिएका नेपाली युवाहरु फिर्ता गर्न तथा हमासको कब्जामा रहेका विपिन जोशी एवं युक्रेनको नियन्त्रणमा रहेका नेपालीहरुको शिघ्र रिहाईको प्रभावकारी कुटनीतिक पहल गर्न सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ ।

Categorized in राजनीति