arin enterprises

राजस्वपाले तत्काल राजीनामा नदिने

SamacharDesk | २०८१ आषाढ २१, बिहिबार

व्यवस्थापिका संसदका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ सत्ता समिकरणको सहमति बनेपछि वर्तमान सरकार अल्पमतमा परेका छन् ।

नयाँ सरकार बन्ने भएपछि राजीनामा बोकेर गएका रास्वपाका मन्त्रीहरुले तत्काल राजीनामा नदिने भएकाछन् ।

राजीनामा दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका मन्त्रीहरु प्रधानमन्त्री पुष्पकमल दाहालसंगको छलफलपछि तत्काल राजीनामा नदिने मुडमा पुगेका हुन् ।

प्रधानमन्त्री दाहालसँगको करीव २ घण्टाको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट तत्काल नबाहिरीने भएको हो । रास्वपाको दुई दिन अघि बसेको पदाधिकारी बैठकले कांग्रेस–एमाले गठबन्धनको सरकारमा सहभागी नहुने निर्णय गरेको थियो ।

रास्वपबाट प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, शिक्षामन्त्री सुमना श्रेष्ठ, श्रम मन्त्री डिपी अर्याल, खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् ।

नेकपा एमाले तथा नेपाली कांग्रेसले प्रधानमन्त्री तथा मन्त्रीहरुलाई राजीनामा दिएर मार्ग प्रसस्त गर्न अथवा सहज गर्न केही दिन अघिदेखि आग्रह गर्दै आएको थियो ।

सोही अनुरुप रास्वपाका मन्त्रीहरुले प्रधानमन्त्री समक्ष आज राजीनामा पत्र बुझाउन गएका थिए तर प्रधानमन्त्रीसँगको छलफल पछि तत्काल राजीनामा नदिने मनःस्थितिमा पुगेको बताइएको छ ।

यस्तै अशोक राई नेतृत्वको जसपाबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले पनि आजै राजीनामा दिने भएका छन् । जसपाबाट सरकारमा सहभागी दुई मन्त्री र एक राज्यमन्त्रीले आजै राजीनामा बुझाउन लागेको हो ।

आज साँझसम्म प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाउने महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिनुभयो ।

उहाँले कांग्रेस–एमालेका सरकारलाई समर्थन गर्ने पनि बताउनुभयो । जसपाबाट स्वास्थ्य मन्त्री प्रदीप यादव, वनमन्त्री नलकिशोर सुडी र स्वास्थ्य राज्यमन्त्री हसिना खान सरकारमा छन् ।

Categorized in राजनीति