८३ वर्षको उमेरमा 'रावण'को निधन
SamacharDesk – बिराज | २०७८ आश्विन २०, बुधबार

रामानन्द सागरबाट निर्मित रामायण सिरियलमा रावणको भूमिका निभाएका अरविन्द त्रिवेदीको निधन भएको छ ।
८३ वर्षीय त्रिवेदीको मंगलबार राती १० बजे हृदयघातका कारण मृत्यु भएको हो । मुम्बइ कान्दिवलीस्थित आफ्नै निवासमा उनको मृत्यु भएको थियो ।
त्रिवेदीका भतीजा कौस्तुभ त्रिवेदीले उनको निधनको पुष्टि गरेका छन् ।
केही दिन अगाडीबाट विरामी परिरहेका उनलाई कुनै ठुलो रोग भने नभएको बताइएको छ । करीब ३ वर्ष अगाडीबाट उनको स्वास्थ्यमा अलि धेरै नै समस्या आइरहेको कौस्तुभले जानकारी दिएका छन् ।
यसै दौरान उनलाई २–३ पल्ट अस्पताल पनि भर्ना गर्नुपरेको थियो । एक महिना अघि मात्र उनी अस्पतालमा उपचार पछि घर फर्केका थिए ।
करीब ६ महिना अघि मे महिनामा पनि उनको मृत्युको हल्ला चलेको थियो ।
दूरदर्शनमा प्रसारित रामानंद सागरको लोकप्रिय पौराणिक धारावाहिक ‘रामायण’ टेलिभिजनमा सबैभन्दा बढि हेरिएको टिभि सिरियलमा पर्छ । यस सिरियलमा रावणको भूमिकामा त्रिवेदीले जोडदार अभिनय गरेका थिए ।
स्वर्गीय त्रिवेदीले लगभग ३ सय हिन्दी र गुजराती फिल्ममा अभिनय गरेका छन् । गुजराती भाषाको धार्मिक र सामाजिक फिल्म क्षेत्रमा उनले ४० वषसम्म योगदान दिएका छन् ।
उनले २० जुलाई २००२ देखि १६ अक्टोबर २००३ सम्म भारतको केन्द्रीय फिल्म प्रमाणन बोर्ड (सीबीएफसी) को प्रमुखको रूपमा समेत काम गरे थिए । त्यस्तै १९९१ देखि १९९६ सम्म सांसद पनि रहेका थिए ।
Categorized in पेजथ्री