शताब्दी पुरुष जोशीको वृत्तचित्रको प्रदर्शन
SamacharDesk – बिराज | २०७७ फाल्गुण ११, मंगलबार

वाङ्मय शताब्दी पुरुष डा. सत्यमोहन जोशीको १५ घन्टा लामो अन्तर्वातासहितको भिज्युअल अर्काइभ र वृत्तचित्र ‘म्वानाच्वंगु इतिहास वाङ्गमय शताब्दी पुरुष डा. सत्यमोहन जोशी” को निर्माण सम्पन्न भएको छ ।
लगभग ३ वर्ष अगाडी निर्माण थालेर अहिले तयार भएको वृत्तचित्रको आज ललितपुरमा एक कार्यक्रमको आयोजना गरी पहिलो प्रदर्शन समेत गरिएको छ । वाङ्गमय शताब्दी पुरुष जोशीको साथै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन लगायतको उपस्थितिमा आज उक्त वृत्तचित्रको पहिलो प्रदर्शन सम्पन्न भएको हो ।
सय वर्ष कटिसकेका बहुआयामिक व्यक्तित्व शताब्दी पुरुष जोशीले आफ्नै बारेमा बनेको वृत्तचित्र हेरिसकेर यसलाई एक व्यक्तिको मात्र नभई समस्त नेवाः भाषा, संस्कृति र नेपालकै चित्रको रुपमा लिन आग्रह गर्नुभयो ।
ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले जोशीको सय वर्षको जन्मदिन मनाउने क्रममा भएका विभिन्न गतिविधि र कार्यक्रमहरुमध्ये यो ऐतिहासिक भएको विचार राख्नुभयो ।
कार्यक्रममा वृत्तचित्र निर्माणका लागि आर्थिक सहयोग गर्ने दाताहरु लक्ष्मीदास मानन्धर, मोतिलाल शिल्पकार, यज्ञरत्न धाख्वाः, कैलाशभक्त प्रधानाङ्ग, डा. सुमित्रा मानन्धर, नेवाः देय दबू र नेपालभाषा एकेडेमीलाई कृतज्ञतासहित सम्मान गरिएको थियो ।
ललितपुर महानगरपालिका र सत्यमोहन जोशी वृत्तचित्र निर्माण समूहको संयुक्त प्रयासमा निर्माण गरिएको थियो । निर्माण समूहका उपाध्यक्ष शाक्य सुरेनले वृत्तचित्र निर्माणको पृष्ठभूमिबारे प्रष्ट्याउनुभयो भने कोषाध्यक्ष सुनिता राजभण्डारीले आर्थिक पक्षको बारे प्रकाश पार्नुभयो ।
