सभामुखका लागि घिमिरे र न्यौपानेको उम्मेदवारी
SamacharDesk | २०७९ माघ ४, बुधबार

प्रतिनिधिसभाको सभामुखका लागि सत्तापक्षको नेकपा एमालेले सांसद देवराज घिमिरेले उम्मेदवारी दिएका छन् ।
घिमिरेले संघीय संसद सचिवालय नयाँ बानेश्वरमा आज उम्मेदवारी दर्ता गराउनुभएको हो । घिमिरेको प्रस्तावक एमाले सांसद सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज पाण्डे, रवि लामिछाने र राजेन्द्र लिङ्देन रहनुभएको छ ।
२०५६ सालमा राष्ट्रिय सभाका सांसद बनेका घिमिरे यसपटक झापा–२ बाट निर्वाचित हुनुभएको हो । उहाँ एमालेका स्थायी समिति सदस्य तथा प्रदेश १ इन्चार्जसमेत हुनुहुन्छ ।
उम्मेदवारी दर्ता गराए लगत्तै उहाँले आफू निर्वाचित भए सन्तुलित रुपमा सभामुखको भूमिका निर्वाह गर्ने बताउनुभयो ।
सभामुख कुनै एक दलबाट नभई सिंगो प्रतिनिधि सभाबाट चुनिएर जाने भएकाले सभामुखले खेल्ने भूमिकामा कमी हुन नदिने गरी कार्य सम्पादन गर्ने प्रतिवद्धता घिमिरेले व्यक्त गर्नुभयो ।
उहाँको प्रतिद्वन्द्वीको रुपमा नेपाली कांग्रेसकी इश्वरी न्यौपानेले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
न्यौपानेको प्रस्तावक कांग्रेस सांसद विश्वप्रकाश शर्मा र समर्थकमा कांग्रेस मुख्य सचेतक रमेश लेखक र नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला रहनुभएको छ ।
सभामुखको निर्वाचन भोलि हुनेछ ।
Categorized in राजनीति