गढीमाई मेलाबाट फर्केका ८ जनाको मृत्यु
SamacharDesk | २०८१ मङ्सिर २५, मंगलबार

रौतहटमा चन्द्रपुर नगरपालीकास्थित राजमार्गमा स्कार्पिओ दुर्घटना हुँदा एकै गाउँका आठ जनाको मृत्यु भएको छ।
बाराको प्रसिद्ध गढिमाई दर्शन गरेर आफ्नो घर सिराहा फर्किने क्रममा मंगलबार बिहान बा १६ च ३१६२ नम्बरको स्कार्पिओ दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको हो।
बाराको पूर्वपश्चिम राजमार्गको धन्सार–लमाहा खण्डमा अनियन्त्रित भई सडकबाट दाहिने साइडको तल रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य ५ जना पनि घाइते भएका छन् ।
मृत्यु हुनेमा सिराहाको अर्नामा गाउँपालिकाका गाडी चालक श्रीकुमार यादव, दर्शनार्थीहरु स्थानीय लरुवती देवी महरा, उर्मिला महरा, रामकुमारी महरा, महँगी देवी महरा, फुलमन्ति देवी महरा, रामकुमारी देवी महरा, शकुन्तला देवी महरा रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले जानकारी दिनुभयो ।
घाईते सबैको विरगञ्जस्थित वयोधा अस्पतालमा उपचार भई रहेको छ ।
उता उदयपुरको लिम्चुङबुङ गाउँपालिका–३ मा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँचजना यात्रु घाइते भएका प्रहरीले जनाएको छ ।
हिजो साँझ सदरमुकाम गाईघाटबाट लिम्चुङबुङको बराहतर्फ जाँदै गरेको ना १ च ३२६७ नम्बरको जीप लिम्चुङबुङ गाउँपालिका ३ स्थित तीनचोकेमा ब्रेक फेल भई सडकबाट २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी राजन चापागाईँले दुर्घटनामा त्रियुगा नगरपालिका–१६ का जीप चालक युवराज तामाङको घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो ।
दुर्घटनामा घाइते भएका पाँचजनाको जिल्ला अस्पतालमा उपचार भई रहेको छ ।
Categorized in समाज