arin enterprises

शाक्त तन्त्र रूप – बौद्ध देवीहरू

SamacharDesk – उर्मी चन्दा-भाज | २०७८ चैत्र १, मंगलबार

यसअघिको लेखमा शाक्त हिन्दु तन्त्रअनुसारका देवीहरूका बारेमा उल्लेख गरिसकेँ । यस लेखमा भने बौद्ध तन्त्रअनुसारका विभिन्न देवीहरूको विवरण र प्रतिमा लक्षण समेट्ने कोशिस गरेकी छु ।

बौद्ध तन्त्र

बौद्ध तन्त्रअन्तर्गत तीन महत्त्वपूर्ण परम्परा छ – श्रावकयान (थेरवाद), महायान र वज्रयान । यसमा देशअनुसारका भिन्नता पाइन्छन्, जस्तै – भारतको बौद्ध तन्त्र जापान वा चीनको बौद्ध तन्त्रभन्दा फरक छ ।

बौद्ध तन्त्रका प्रमुख अधिष्ठात्री देवीहरू

वज्रवाराही – चक्रसंवरकी शक्ति वज्रवाराही वज्रयानको सबैभन्दा लोकप्रिय देवी हुन् । उनलाई वज्रयोगिनी वा दोर्जे पाक्मो भनी चिनिन्छ । उनलाई त्रिनेत्र, दुई भुजा र एक वक्त्रसहित नृत्य मुद्रामा देखाइन्छ । उनी नरासनमा कपालपात्र र खड्गसहित देखिन्छ । कालीझैँ डरलाग्दो देवीका रूपमा वज्रवाराहीलाई देखाइन्छ । कहिलेकाहीँ वराह वक्त्र उनको शिरसँगै वा माथि देखाइन्छ ।

विश्वमाता – कालचक्रको अधिष्ठात्री देवीका रूपमा विश्वमातालाई लिइन्छ । उनी कालचक्रसँग समागमको मुद्रामा देखाइन्छ र उनलाई कालीचक्र भनेर पनि चिनिन्छ । विश्वमाता स्वर्ण वर्णमा देखाइन्छ र कालचक्रलाई अगाडिबाट आलिङ्गन गरेको देखाइन्छ । उनको चार वक्त्र र आठ भुजा देखाइन्छ, जसमा क्रमशः पद्म, डमरु, पाश, माला, कर्त्तिका, पात्र, धर्मचक्र र शङ्ख लिएकी हुन्छन् ।

वज्रवेताली – रोलाङ्मा पनि भनिने वज्रवेताली देवी सरस्वतीको डरलाग्दो रूप हो । उनी महिषवक्त्र यमान्तककी अधिष्ठात्री देवी हुन् । यमान्तकझैँ वज्रवेतालीलाई एक वक्त्र, दुई भुजा र त्रिनेत्रसहित देखाइन्छ । उनको नेत्र गोलो र डरलाग्दो देखाइन्छ । उनले हातमा कपालपात्र र चक्कु बोकेकी हुन्छिन् । उनको शिरमा पाँचवटा मुण्ड र गलामा ५० वटा मुण्डसहितको माला देखाइन्छ ।

स्पर्शवज्र – अक्षोभ्यवज्र वा गुह्यसमाजकी अधिष्ठात्री स्पर्शवज्रलाई आदिप्रज्ञा पनि भनिन्छ । आदिप्रज्ञाकी तीन वक्त्र रक्त, नील र श्वेत वर्णको हुन्छ । उनको एक जोडी भुजाले गुह्यसमाजलाई आलिङ्गन, माथिल्लो भुजाद्वयमा मणि र चक्र तथा तल्लो भुजाद्वयमा ज्ञानखड्ग र पद्म हुन्छ ।

येशे छोग्याल – ऐतिहासिक पात्र येशे छोग्याल (सन् ७५७–८१५)लाई वज्रयानमा देवीकै रूपमा पूजा गरिन्छ । उनी गुरु पद्मसम्भवकी अधिष्ठात्री हुन् र उनलाई तारा वा सरस्वतीको रूप पनि मानिन्छ । उनलाई महिला बुद्धका रूपमा शान्त रूपमा उठेकी वा बसेकी रूपमा देखाइन्छ ।

यो पनि हेर्नुहोस् -

बौद्ध तन्त्रका प्रमुख सृष्टिकर्ता मातृका देवीहरू

समन्तभद्री – समन्तभद्रकी अधिष्ठात्रीकी रूपमा देखाइने समन्तभद्री वज्रयानमा महत्त्वपूर्ण डाकिनी र महिला बुद्ध हुन् । उनलाई आदिमातृबुद्ध पनि मानिन्छ । उनलाई कमलासनमा श्वेत वर्णमा देखाइन्छ ।

प्रज्ञापारमिता – प्रज्ञापारमिता महिला बुद्ध हुन् । उनलाई युम छेन्मो पनि भनिन्छ । महायानमा प्रज्ञापारमिता दार्शनिक वा ध्यान ग्रन्थ हो तर वज्रयानमा भने उनी देवीकै रूपमा मानिन्छ । उनलाई स्वर्ण वर्णमा शान्त रूप, चार भुजायुक्त ध्यान मुद्रामा देखाइन्छ । उनको तल्लो दुई भुजा मुद्रायुक्त देखाइन्छ भने माथिल्लो भुजामा सूत्र र वज्र देखाइन्छ ।

नैरात्म्य – शून्यताकी देवी नैरात्म्य पनि महिला बुद्ध हुन् । उनलाई गाढा नीलोवर्णको एक वक्त्र र दुई भुजामा कत्र्तिका र पात्रसहित तथा बायाँ काँधमा खट्वाङ्गसहित देखाइन्छ । मुण्डमाला, हाडका गरगहना, व्याघ्राम्बरसहित उनलाई केही रिसाएको देखाइन्छ । उनलाई चम्किलो चक्र, रङ्गीचङ्गी कमलयुक्त आसनमा बसेको देखाइन्छ ।

श्वेत/शीत तारा – अवलोकितेश्वरकी अधिष्ठात्री श्वेततारा वज्रयानमा निकै लोकप्रिय देवी हुन् । तारा हिन्दु तन्त्रमा दशमहाविद्या देवीका रूपमा र वज्रयान दुवैमा आउँछ । वज्रयानमा तारा विभिन्न रङ्गका हुन्छन् । वज्रयान कलामा श्वेत तारालाई सात नेत्रसहित देखाइन्छ — दुई आँखा, तेस्रो आँखा र दुवै भुजा र पाउहरूमा एक–एक आँखा । उनी हीरायुक्त कमलमा विराजमान हुन्छिन् र उनको पैताला माथितर्फ फर्केको हुन्छ । उनी शान्त स्वभावको देखाइन्छ । उनको दायाँ हात वरद मुद्रामा र बायाँ हात रक्षा मुद्रासहित कमलको फूल देखाइन्छ ।

हरित/समय तारा – हरित वा समय तारा बौद्ध परम्परामा लोकप्रिय देवी हुन् । उनको दुई भुजा देखाइन्छ । उनको बायाँ पाउ सुखासनमा र दायाँ पाउ फैलाइएको देखाइन्छ । उनको बायाँ हात अभय मुद्रामा र दायाँ हात वरद मुद्रामा देखाइन्छ । उनले हातमा नीलो कमल लिएकी हुन्छिन् ।

युम्का देछेन ग्याल्मो – येशे शोग्यालकै एक रूप मानिन्छ, युम्का देछेन ग्याल्मो । उनी ज्ञान डाकिनी हुन् । उनलाई रक्त वर्णमा नग्न रूपमा देखाइन्छ । उनको एक वक्त्र, दुई भुजा र तीन नेत्र हुन्छ । उभिएको रूपमा उनका एक पाउ अलि अगाडि सरेको हुन्छ । उनको दायाँ हातमा डमरु र बायाँ हातमा कत्र्तिका देखाइन्छ ।

बौद्ध तन्त्रका प्रमुख संहारकर्ता देवीहरू

पाल्देन ल्हामो – तिब्बतकी महत्त्वपूर्ण देवी पाल्देन ल्हामो युद्ध देवीको रूपमा देखाइन्छ । तिब्बतको गेलुग परम्पराअनुसार उनी त्यहाँकी प्रमुख रक्षक हुन् । उनी महाकालकी अधिष्ठात्री हुन् । उनको प्रतिमामा गाढा नीलो वर्ण, तीन नेत्र र खच्चर आसन देखाइएको हुन्छ । उनले धर्मरक्षाका निमित्त आफ्नै पुत्रको वध गरेको कथा छ । उनले वध गर्ने मात्र नभई आफ्नो पुत्रको छाला काढेर खाएको मानिन्छ ।

एकजटी – देवी ताराको २१ वटा रूपमध्ये एउटा मानिने एकजटीलाई महाचीन तारा पनि भनिन्छ । उनी सबै बुद्धका मातृकाको पनि मातृका मानिन्छ । उनको भूमिका गुह्य मन्त्रहरूको रक्षा गर्नु हो । उनको प्रतिमामा एक जटा, एक स्तन, एक आँखा र एक दाँत देखाइन्छ । गाढा नीलो वर्णकी यी देवीको दुई भुजा, मुण्डयुक्त श्रीपेच, हाडका गरगहना र व्याघ्राम्बर देखाइन्छ । बादलले घेरेकी यी देवीको दायाँ हातमा मुटु र बायाँ हातमा स्याल देखाइन्छ ।

वज्रयोगिनी – योगतन्त्रका महत्त्वपूर्ण ध्यानी देवीका रूपमा वज्रयोगिनीलाई मानिन्छ । उनी महिला बुद्ध र डाकिनीका रूपमा मानिन्छ । मृत्यु, मृत्युपछि र पुनर्जन्ममा रक्षाका लागि यी देवीको आवाहन गरिन्छ । उनलाई १६ वर्षीया, रक्त वर्ण, नग्न रूपमा त्रिनेत्रसहित देखाइन्छ । वज्रयोगिनीले खट्वाङ्ग, रक्तले पूरित कपालपात्र र कर्त्तिका बोकेकी हुन्छिन् । वज्रयानमा लोकप्रिय तत्त्व पाँच मुण्डसहितको श्रीपेच र मुण्डमाला वज्रयोगिनीको पनि देखाइन्छ । उनको दायाँ पाउ कालरात्रिमाथि र बायाँ पाउ भैरवमाथि र उनी अग्निचक्रमाथि उभिएकी देखाइन्छ ।

उनको अर्को रूप हो, ठोइमा नाग्मो जसलाई क्रोधेश्वरी, क्रोधकाली, कृष्णक्रोधिनी वा कालिका भनेर पनि पुजिन्छ । नीलो–कालो रङ्गकी यी देवीले खट्ग, खट्वाङ्ग, कपालपात्र बोकेकी हुन्छिन् भने उनको केश अग्निझैँ देखाइन्छ । उनी शवमाथि नृत्य मुद्रामा देखाइन्छ । शिरच्छेन गरिएको देवीको रूपलाई छिन्नमुण्ड भनिन्छ र यो हिन्दु छिन्नमस्ताकै जस्तो रूपमा देखाइन्छ । छिन्नमुण्डा सम्भोग गरिरहेका दम्पत्तिमाथि (छिन्नमस्ता कामदेव र रतिमाथि उभिएझैँ) उभिएकी, आफ्नो शिर छेदन गरेकी देखाइन्छ । उनको शिरबाट निस्केको रक्तधारामध्ये एक आफ्नै मुखमा र अर्को वज्रवर्णनी र वज्रवैरोचनीले (छिन्नमस्ताको प्रतिमामा भने डाकिनी र वर्णिनीले) ग्रहण गरेकी देखाइन्छ ।

रक्ततारा/कुरुकुल्ला – देवी ताराको सबैभन्दा डरलाग्दो रूप हो, रक्तधारा अर्थात् कुरुकुल्ला । कामेच्छा पूर्तिका लागि उनको आवाहन गरिन्छ । उनी प्रेमकी देवी हुन् तर उनको रूप केही डरलाग्दो देखाइन्छ, अझ उनले कामदेवमाथि नै टेकेकी हुन्छिन् । उनले पुष्पयुक्त धनुषवाण बोकेकी हुन्छिन् । उनी रक्त वर्णकी, मुण्डमालासहित, एक पाउमा नृत्य मुद्रामा उभिएकी र चार भुजायुक्त देखाइन्छ ।

सितातपत्रा/दुक्कर – सितातपत्रा देवीलाई श्वेत छत्रयुक्त देवी, दुक्कर पनि भनिन्छ । उनी शाक्यमुनि बुद्धबाट उत्पत्ति भएकी मानिन्छ र उनले आफ्नो छत्रले नै इन्द्रलाई सबै दैत्यमाथि विजय प्राप्त गर्न सहयोग गरेकी मानिन्छ । उनी एक वक्त्र, तीन आँखा र दुई भुजायुक्त मानिन्छ । उनले एक हातमा छत्र र अर्को हातमा चक्र समातेकी देखाइन्छ । तर उनका अन्य प्रतिमाहरूमा भने उनका हजारवटासम्म हात, वक्त्र र नेत्र देखाइन्छ ।

बौद्ध तन्त्रका प्रमुख सामूहिक देवीहरू

डाकिनी – तिब्बती बौद्ध परम्परामा डाकिनीलाई खण्डरोमा भनिन्छ र वज्रयानी परम्परामा यी देवीहरूको महत्त्वपूर्ण स्थान छ । डाकिनीको शाब्दिक अर्थ हुन्छ, जो आकाशमण्डलमा विचरण गर्दछिन् । डाकिनीका अधिष्ठाता डाक हुन्, तर वज्रयान तन्त्रले प्रमुख रूपमा पुज्ने भनेको डाकिनीहरू नै हुन् ।

तिब्बती लामाअनुसार डाकिनीका यी भेद पाइन्छन् – प्रज्ञापारमिता (शून्यताको द्योतक, ध्यानी देवीहरू), बाहिरी डाकिनी (सूक्ष्मताको द्योतक) र बाहिरी–बाहिरी डाकिनी (मानव शरीरको द्योतक) । यसबाहेक त्रिकाय (बुद्धका तीन काय) अनुसार यी भेद पाइन्छन् – धर्मकाय डाकिनी (समन्तभद्री), सम्भोगकाय डाकिनी (गुह्यदेवी) र निर्माणकाय डाकिनी (सर्वोच्च साधिका देवी) । विशेषतः ज्ञान डाकिनी र संसार डाकिनी भनी दुई किसिमका डाकिनी मानिन्छ । तारा, वज्रयोगिनी र एकजातीलाई पनि डाकिनी नै भनिन्छ । यससँगै वज्रयोगिनीको गुह्य रूप खेचरीलाई पनि डाकिनी नै मानिन्छ र उनलाई दुवै खुट्टा फैलाई बच्चा जन्माउन लागेको देखाइन्छ ।

गुह्यज्ञान तन्त्रले अझ आठ बोधिसत्व डाकिनीको व्याख्या गर्छ, जो मृत्युपछि र पुनर्जन्मअघि देखा पर्छन् – लस्या, पुष्पा, माला, धूपा, गीता, आलोका, गन्धा र नैवेद्य/नर्त्या । यी आठ डाकिनीको मुख क्रमशः सिंह, व्याघ्र, श्रीगल, श्वान, गृध, कंक, काक र उल्लुको देखाइन्छ ।

ज्ञानडाकिनीलाई भने पञ्चबुद्धसँग जोडिएको पाइन्छ । बुद्धडाकिनी आकाशधात्वीश्वरी श्वेत वर्णको, वज्रडाकिनी नील वर्णको, रत्नडाकिनी पीतवर्णको, पद्मडाकिनी पाण्डारवासिनी रक्त वर्णको र कर्मडाकिनी हरित वर्णको देखाइन्छ ।

योगिनी (२८ ईश्वरी) – वज्रयान बौद्ध परम्परामा पनि योगिनीको महत्त्व रहेको छ । हेरुक मण्डलमा चार प्रमुख योगिनी र २४ नायिका मानिन्छ । चार प्रमुख योगिनीमा वज्रडाकिनी, वज्रलामा, खण्डारोही र वज्ररूपिनी मानिन्छ । अन्य २४ नायिका योगिनीलाई चार भागमा बाँडिन्छ – शान्त योगिनी (श्वेतराक्षसी, ब्राह्मी, महादेवी, लोभा, कुमारी, इन्द्राणी), शक्तियोगिनी (वज्र, शान्ति, अमृता, चन्द्रा, दण्डा, पीतराक्षसी), आकर्षिणी योगिनी (भक्षिणी, रति, महाबला, रक्त राक्षसी, कामा, वसुरक्षा) र वशीकरणी योगिनी (वायुदेवी, नारी, वाराही, नन्दा, महाहस्तिनी, वारुणादेवी) ।

चार द्वारदेवी – वज्रयानको गुह्यगर्भतन्त्रमा मानिसको मृत्युपछि र पुनर्जन्मअघि देखा पर्ने १०० जना देवीको उल्लेख पाइन्छ । त्यसमध्ये आठजना द्वारका देवी र देवता रहेका छन् – अनुष्का+विजय/अचल पूर्वद्वारमा, पाशा+यमान्तक दक्षिणद्वारमा, शृङ्खला+हयग्रीव पश्चिमद्वारमा र घण्टा+अमृतकुण्डली उत्तरद्वारमा । त्यस्तै, बाहिरी द्वारका चार देवीहरू पनि पङ्क्षी शिर र महिलाको शरीरमा पाइन्छन् – वज्रतेजसी, वज्रामोघा, वज्रालोका र वज्रबेताली ।

आठ गौरीमा/केरीमा – हेरुक मण्डलका देवीदेवताको वरपर आठ देवीहरू देखाइन्छ – गौरी, पुक्कसी, चौरीमातृका, घस्मरी, प्रमोघा, चाण्डाली, बेताली र श्मशानी ।

दीर्घायुका पाँच देवीहरू – पाँच दिदीबहिनी देवीमा प्रमुख ताशी छिरिङ्मा मानिन्छ र यी पाँचै दिदीबहिनी देवीहरूले दीर्घायु, ऐश्वर्य, जादुमयी क्षमता, पोषण र सौभाग्यको आशीर्वाद दिन्छन् । ताशी देवी श्वेत वर्ण, हिमसिंहिनीमाथि सवार, एक वक्त्र र दुई भुजामा वज्र र दीर्घायु कलशसहित देखाइन्छ । तिङ्गी शाल्जाङ्मा देवी नील वर्ण, अश्वमा सवार र दुई भुजामा दर्पण र देवपतासहित देखाइन्छ । मियो लाजाङ्मा पीत वर्ण, सिंहिनीमा सवार र दुई भुजामा मिष्ठान्न र न्याउरी मुसा देखाइन्छ । छोपेन दृङ्जाङ्मा रक्त वर्ण, मृगमा सवार र भुजामा इच्छापूर्ति रत्न र रत्नयुक्त बट्टा बोकेको देखाइन्छ । ताकर द्रोजाङ्मा हरित वर्ण, ड्रागनमा सवार र दुई भुजामा दुबो र नागपाश बोकेको देखाइन्छ ।

१२ तेन्मा देवी – तिब्बतको संरक्षिका देवीका रूपमा १२ तेन्मा चुन्यी देवीहरूलाई मानिन्छ । यी देवीहरू दीर्घायुका पाँच देवीभन्दा मुनि रहन्छन् । उनीहरूलाई गुरु रिम्पोछेले हराएको र तिब्बतलाई संरक्षण गर्न वचनबद्ध बनाएका थिए । रत्न लिङ्पाका अनुसार यी हिमाली देवीहरूलाई तीन समूहमा बाँडिएका छन् – राक्षसीदेवी वा डुमो (दोर्जे कुन्द्राक्मा, दोर्जे यम क्योङ, दोर्जे कुन्तु जाङ, दोर्जे गेक क्यी शो), औषधीदेवी वा मेन्मो (दोर्जे बो खाम क्योङ, दोर्जे मेन्चीक्मा, दोर्जे जुलेमा, दोर्जे यार्मो सिल) र यक्षिणीदेवी वा नोजिन (दोर्जे युद्रोन्मा, दोर्जे पाल्ग्यी युम, दोर्जे लुमो र दोर्जे द्राक्मो ग्याल) ।

यो पनि हेर्नुहोस् -

मुम्बई विश्वविद्यालयको संस्कृत विभागमा कम्पेरेटिभ मिथोलोजी विषयमा पोस्ट–ग्राजुएट डिप्लोमा डिग्रीका लागि बुझाइएको शोधको सम्पादित अंश

Categorized in संस्कृति