श्री स्वस्थानी ब्रत आरम्भ
SamacharDesk – Ram Dangol | २०८० माघ १२, शुक्रबार

विहीबारबाट हिन्दु धर्मावलम्बीहरुले श्री स्वस्थानी व्रत तथा कथा श्रवण सुरु गरेका छन् ।
पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पुर्णिमासम्म गरी एक महिनासम्म रहन्छ । एक महिनाभर व्रत कथाका ३१ अध्यायहरू पाठ गरिन्छन् ।यस अवसरमा श्री स्वस्थानी माताप्रति आस्था राख्नेहरूले महिनाभरि व्रत लिने गर्दछन् ।
यसरी व्रत लिँदा एक छाक चोखो खाने र अर्को छाक कन्दमूल वा फलफूल सेवन गर्ने प्रचलन छ । स्वस्थानी व्रत र कथा प्रारम्भ भएपछि कतिपय परिवारमा माछा–मासु घरभित्र प्रवेश गराउँदैनन् ।
स्वस्थानी कथा अनुसार स्वस्थानी व्रत सुरुमा नारायण विष्णु, त्यसपछि पार्वती, गंगा, अप्सरा, गोमा, नागनागिनी, चन्द्रावती, नवराज हुँदै सर्वसाधारणमा व्रत सुरु भएको धार्मिक मान्यता छ ।
यसै अवसरमा काठमाडौंको उत्तर पूर्वी कुनामा रहेको साँखुमा विहिबारदेखि माधव नारायण व्रत आरम्भ भएको छ । हरेक वर्ष पौष पूर्णिमाबाट माघ पूर्णिमासम्म एक महिना चल्ने यस व्रतलाई निकै कठिन व्रत मानिन्छ ।
व्रत बस्नेहरुले ब्रत सुरु गर्नु अघिल्लो दिन अर्थात पौष शुक्ल चतुर्दशीको दिन ‘चि भ्वय् नयेगु’ भनेर भोज खाने गर्छन् । प्रत्येक दिन व्रत पूजा गर्नका लागि हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिनुपर्छ ।
माधव नारायणको व्रत गरी बेलुकी आरती दिएर एक छाक शुद्ध भोजन गर्ने गरिन्छ ।बेलुकी स्कन्दपुराणको केदारखण्डमा माघ माहात्म्य अन्तर्गतको कुमार अगस्त्यबीचको संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।
माघ महिनामा शालीनदीमा स्नान गरेर माधवनारायणको दर्शन गरेमा पापमोचन भई पुण्य कमाइने धार्मिक विश्वास छ ।
त्यस्तै सालीनदीको पानीले नुहाएमा विभिन्न रोग नष्ट हुने, शारीरिक तथा मानसिकरूपमा स्वस्थ रहने धार्मिक आस्था र विश्वास छ ।
महादेव पति पाउँ भनी पार्वतीले यो व्रत बसेको धार्मिक विश्वास पनि रहेको छ । यो व्रत स्वयम् नारायणले नै पार्वतीलाई सिकाएको र नारायणलाई गुरु मानेर माधव नारायणको व्रत बसेपछि मात्र पार्वतीले शिव पति पाएको कथन रहेको छ ।
संस्कृतिविद्हरुका अनुसार स्वस्थानी ब्रतका अवसरमा नारायण भगवानलाई माधव नारायणको रुपमा पुज्ने गर्दछ ।
नारायणलाई वर्षैभरि फरक फरक भगवानको रुपमा पुजिन्छ । बैशाखमा मधुसुदन नारायण, जेठमा त्रिविक्रम नारायण, आषाढमा वामन नारायण, श्रावणमा श्रीधर नारायण, भाद्रमा ऋषिकेश नारायण, असोजमा पद्मनारायण, कार्तिकमा दामोदर नारायण, मंसिरमा केशव नारायण, पौष महिनामा नारायण, माघमा माधव नारायण, फाल्गुणमा गोविन्द नारायण र चैत्र महिनामा विष्णुरूप लिनुहुने हुँदा माघ महिनामा नारायणको नाम माधव हुने भएकाले माधव नारायणको नामले माघ महिनाभर पुज्ने परम्परा चल्दै आएको हो ।
यसैबीच श्री माधव नारायण स्वस्थानी व्रत तथा सालिनदी सुधार समितिले मंगलबार मेलास्थलमा गरेको पत्रकार सम्मेलनमा यो वर्ष पनि विगत वर्षहरुमा झै देशका विभिन्न भागबाट एक महिनाको अवधिमा २० देखि २५ लाखसम्म श्रद्धालु भक्तजनहरु मेला भर्न आउने आयोजकले बताएका छन् ।
मेलामा आउने भक्तजनहरुको सेवा, सुविधा र सुरक्षालगायतका विषयलाई मध्यनजर गर्दै सार्वजनिक यातायातको सम्बन्धमा शालिनदी यातायात प्रा।लि र बाबागोकर्णेश्वर प्रा.लि. द्वारा सञ्चालित बसहरु यात्रुको सेवामा आवश्यक भाडादरको सूचना र बेलुका अबेरसम्म पनि मेला भर्न आउने भक्तजनहरुको सेवामा खटिने आयोजकले बताएकोे छ ।
व्रतालु व्यवस्थापन सम्बन्धमा व्रत बस्न साँखु आउने व्रतालुहरुको सेवाको लागि सवैभन्दा पहिले लगत संकलनको लागि नामदर्ता एवं स्थान व्यवस्थापन गरिएको र हालसम्म एक सय ९८ जनाले व्रत बस्नको लागि नाम दर्ता गराएको यो संख्या अझ बढ्न सक्ने आयोजकले बताएको छ ।
Categorized in संस्कृति