arin enterprises

ओली प्रवृत्तिका व्यक्तिहरुले संघीयतालाई बोझिलो बनाएको श्रेष्ठको भनाई

SamacharDesk – बिराज | २०८० आश्विन २३, मंगलबार

जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले संघमा साझा राज्य र प्रदेशमा स्वायत्त राज्य भएमात्र संघीयता सफल हुने विचार राखेका छन् ।

जसपा सप्तरी जिल्लाबाट आयोजित दशैँ, तिहार र छठको शुभकामना आदान प्रदान तथा सङ्गठन विस्तार सम्बन्धी अभिमुखीकरण कार्यक्रममा कावा अध्यक्ष श्रेष्ठले यस्तो विचार राख्दै संघवादको आधारभूत सिद्धान्त लागू गनुपर्ने बताए ।

सो अवसरमा श्रेष्ठले वर्तमान संघीय ढाँचा संघीयतालाई ‘अनिच्छुक गर्भाधान’ ठान्ने ओली प्रवृत्तिका व्यक्तिहरूले कोरेको हुँदा संघवादको मूल्य र मान्यताअनुरूप नबनाई तीन तहको नाममा बोझिलो संघीयताको ढाँचा बनाएर त्यसलाई असफल पार्ने षडयन्त्र गरेको बताए ।

संघीयताविद्को रूपमा समेत चिनिएका श्रेष्ठले संसारमा अमेरिका, भारत, अष्ट्रेलियामा भन्दा नेपालमा धेरै सरकार बनाएर यसलाई एमाले, कांग्रेसको बर्चश्व रहेको संविधान सभाले खर्चिलो बनाएको आरोप लगाए ।

संघीय संरचना खारेज हुँदा समेत ७६१ मध्ये ७५४ वटा सरकार बाँकी हुने र त्यो बोझिलो नै हुने श्रेष्ठको भनाई थियो ।

उनले नेपालमा पनि रुस, जर्मन, स्विटजरल्यान्ड आदि देशमा जस्तै स्थानीय टोल वस्तीको सामुदायिक संरचनामा आधारित विकासको एकाईको रूपमा स्थानीय तह बनाई संघ र प्रदेश दुइ तहको मात्र संघीयता हुनुपर्ने बताउँदै त्यसो हुँदा संघीयता एकात्मक राज्यभन्दा धेरै मितब्ययी हुने बताए ।

कार्यक्रममा प्रदेश इन्चार्ज मृगेन्द्र कुमार सिं यादवले संगठन विस्तार तथा सुदृढीकरण अभियानलाई टोल टोलसम्म पुर्‍याउनुपर्ने बताए ।

कार्यकारिणी सदस्यद्वय मनिष सुमन र नवल किशोर साहले वर्तमान चुनौतिलाई सामना गर्न जिल्लाले कार्ययोजना बनाई काम गर्नुपर्नेमा जोड दिए ।

Categorized in राजनीति