वर्षको अन्तिम पर्व सिथी नखः मनाईंदै
SamacharDesk | २०८१ जेठ ३०, बुधबार

नेवार समुदायमा अन्तिम पर्वको रुपमा सिथी नखः आज मनाईंदैछ ।
विशेषगरी सिथिनखःलाई देपूजा, देवाली अर्थात् कुलपूजा मनाउने अन्तिम दिनको रुपमा पनि लिइन्छ । विभिन्न स्थानमा विभिन्न समयमा देवाली मनाउने गरेतापनि, केही कारणवश कुल पूजा गर्न नपाएका, कुलपूजा गर्ने तिथि थाहा नभएर अन्योलमा रहेकाहरुले सिथि नखःको दिन आफ्नो कुल पूजा मनाउने गर्छन् ।
यस दिन मास, मुगी, मुसुरो, केराउ, चनाको समेत गरी ६ प्रकारको वः बनाएर खाने गरिन्छ भने चतांमरिसमेत खाने गरिन्छ । यस दिन पीठोको सुख्खा रोटी बनाएर खान नहुने मान्यता पनि रहेको पाइन्छ ।
सिथिनखःलाई फू नखः, सित्तिकं वःगु नखः, म्ह्याय्मचा नखः आदि विभिन्न नामले पनि चिनिन्छ । यस दिन बिहे गरेर गइसकेकी छोरी, चेलीबेटीलाई घरमा पाहुना निम्तो दिएर बोलाउने गरिन्छ ।
सिथिनखः पछि वर्षायाम सुरु हुने र यससँगै धान रोपाईँमा व्यस्त हुने भएकोले यसलाई अन्तिम पर्व र रोपाइँ पछि सुरु हुने गथांमुगः पर्वलाई पहिलो पर्वको रुपमा लिने गरिन्छ ।
भगवान् कुमारको जन्म दिन समेत भएकाले यस दिन कुमारको पूजा गर्ने गर्दछ ।
सिथि नखः प्रकृतिसँग प्रत्यक्ष सम्बन्ध राख्ने पर्व पनि हो । यस दिन आफ्नो टोल वरिपरि रहेको इनार, कुवा, ढुंगेधारा, पोखरी, कुलो जस्ता विभिन्न पानीको स्रोतहरु रहेको ठाउँमा सबैजना मिलेर सरसफाइ गर्ने गरिन्छ ।
वर्षाको समयमा यस्ता पानीका मुहानहरु सफा होस् र खाने पानी दुषित नहोस् भन्ने ध्येयले यस्ता मुहानहरु सफा गर्ने गरेको बुझ्न सकिन्छ ।
त्यस्तै वर्षातमा परेको ठूलो पानी बग्नलाई कुनै बाधा, अवरोध नहोस् र त्यसबाट कुनै प्रकारको क्षति नहोस् भनेर पहिल्यै सजग भई ढल, नालीहरु पनि सफा गर्ने गर्दछ ।
त्यसैले आजको दिन पानीको मुहान सफा गर्ने प्रचलनसमेत रहेको छ । यस दिन पानीका प्राकृतिक स्रोत इनार, कुवा, पोखरी र ढुंगेधारा सरसफाइ गरेर सिथी नखः पर्व मनाउने गरिन्छ ।
Categorized in संस्कृति