किलाघः सांस्कृतिक पुचःको २० औं वार्षिकोत्सव मनाइयो
SamacharDesk – बिराज | २०७७ पौष १३, सोमबार

किलाघः सांस्कृतिक पुचः २०औं वार्षिकोत्सवको अवसरमा सांस्कृतिक बाजा गुरुहरुको सम्मान गरिएको छ । संस्था स्थापनाको २० वर्ष पुरा हुनुको साथमा नेपाल संवत् ११४१ नयाँ वर्ष र १७औं राष्ट्रिय ज्यापु दिवसको अवसरमा वाद्यगुरुको साथमा संस्थाको स्थापनाका लागि योगदान दिने व्यक्तित्वहरुको सम्मान गरिएको हो ।
कार्यक्रममा पुचःका गुरु गजेन्द्र महर्जन, संयोजक बुद्धिनारायण महर्जन, काठमाडौं महानगरपालिका २४ वडाका वडाध्यक्ष बालकृष्ण श्रेष्ठ र समाजसेवी ई. मोहनकृष्ण डंगोललाई सम्मान गरिएको हो ।
मन्तव्यको क्रममा बागमती प्रदेशका सांसद राजेश शाक्यले सांस्कृतिक सम्पदाको संरक्षणमा युवा पुस्ताको अग्रसरता देखेर खुसी पोख्नुभयो ।
कार्यक्रममा सम्मानित काठमाडौं महानगरपालिका २४ वडाका वडाध्यक्ष बालकृष्ण श्रेष्ठले २० वर्षअघि संस्था स्थापनाका लागि तत्कालीन काठमाडौं क्षेत्र नम्बर ७ का सांसद प्रा.डा. मंगलकृष्ण मानन्धरले सांसद विकास कोषबाट सहयोग उपलब्ध गराएको स्मरण गर्नुभयो ।
पुचःका सचिव रत्नकाजी महर्जनले २०५७ सालमा धिमेय् र बाँसुरी प्रशिक्षणबाट शुरु भएको पुचःले विभिन्न वाद्यवादनको प्रशिक्षणको साथमा उदघोषण, तालिम, मेयर्स ट्रफि सानो धिमे प्रतियोगीता, त्यःछिंत्यः, रक्तदान लगायतको कार्यक्रम गरेको जानकारी गराउनुभयो ।
कार्यक्रममा नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४१ का अध्यक्ष रमेश महर्जन, ज्यापु महागुथि नेपाःका अध्यक्ष लोककवि राजभाइ जकःमिं, ज्यापु संस्कृति विकास कोषका अध्यक्ष मंगलकृष्ण सिंहले संस्थालाई शुभकामना दिनुभयो ।
सभाले सानुकाजी महर्जनको अध्यक्षतामा पुचःको नयाँ कार्य समिति पनि चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा सुनिल महर्जन, सचिवमा रत्नकाजी महर्जन, सचिवमा अनिमा महर्जन, कोषाध्यक्षमा तेजरत्न महर्जन र सह कोषाध्यक्षमा रोहित महर्जन हुनुहुन्छ । सदस्यहरुमा अञ्जु महर्जन, श्याम महर्जन र अनिश महर्जन हुनुहुन्छ ।
Categorized in समाज