सम्पदालाई प्राथमिकतामा राख्ने सभामुख पाठकको भनाई
SamacharDesk – बिराज | २०८० जेठ ६, शनिबार

बागमती प्रदेशका सभामुख भुवन पाठकले काठमाडौंका विश्व सम्पदा परिसरको संरक्षण र प्रवद्र्धनलाई प्राथमिकतामा राख्ने बताउनुभएको छ ।
आज शनिबार कुमारीको दर्शन गर्न कुमारी घर, बसन्तपुर पुगेका सभामुख पाठकले यस्तो बताएका हुन् ।
कुमारी दर्शन पछि संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै सभामुख पाठकले विश्वमै देशको पहिचान बनेको यहाँ रहेका विश्व सम्पदालाई प्राथमिकतामा राख्दै अघि बढ्ने बताएका हुन् ।
‘विश्व सम्पदामा सुचीकृत नेपालका विभिन्न सम्पदाहरु मध्ये धेरै जसो ऐतिहासिक, सांस्कृतिक सम्पदाहरु बागमति प्रदेशमा छन् । यसको संरक्षण, प्रवर्ध्दनलाई प्राथमिकतामा राखेर बागमति प्रदेश अघि बढ्नेछ’ पाठकले भने ।
बागमति प्रदेश सांसद शैलेन्द्रमान बज्राचार्यको निमन्त्रणामा सभामुख पाठक कुमारी दर्शन गर्न आज बसन्तपुर पुगेका थिए ।
स्थानीय ऐतिहासिक, सांस्कृतिक, धार्मिक मूर्त, अमूर्त सम्पदाको, संस्कृति, रितीरिवाज आदिको जानकारी गराई यसको संरक्षण, सम्वर्ध्दन र प्रवर्ध्दनको लागि ध्यानाकर्षण गराउन पनि आफुले सभामुखलाई भ्रमणको लागि अनुरोध गरेको सांसद बज्राचार्यले बताए ।
‘स्थानीय संस्कृति, सम्पदाको संरक्षण, प्रवर्ध्दनको लागि योजना, नीतिको विषयमा आज छलफल भएको छ । माननिय सभामुखज्यूको वसन्तपुर भ्रमण पछि व्यवस्थित, प्रभावकारी र नतिजामूलक ढङ्गले योजना अघि बढाउन स्पष्ट खाका देखिन थालेको छ’ बज्राचार्यले भने ।
आज सभामखु पाठकले कुमारीको दर्शन गरेर आशिर्वाद थाप्नुका साथै हनुमान ढोका दरवार क्षेत्रका ऐतिहासिक, धार्मिक सम्पदाहरुको अवलोकन गरेका थिए ।
पाठकले काष्ठमण्डप, अशोक विनायक (मरु गणेश) को साथमा हनुमानढोका र हनुमान ढोका भित्रको संग्रहालयको अवलोकन गरेका थिए ।
Categorized in राजनीति