स्टार म्यूजिक भिडियो अवार्ड्सको प्रमाण पत्र वितरण हुँदै
SamacharDesk – बिराज | २०८१ माघ ९, बुधबार

संसार नेशनल स्टार म्यूजिक भिडियो अवार्ड्सको तेश्रो संस्करणमा सहभागी म्यूजिक भिडियोहरुको आधिकारीक भिडियो छनौट र प्रमाण पत्र वितरण कार्यक्रम भोलि (विहिबार) आयोजना हुने भएको छ ।
नेपाली संगीत क्षेत्रकै सबैभन्दा ठुलो दावी गरिएको अवार्ड्समा सहभागी म्यूजिक भिडियोको प्रमाण पत्र भोलि कीर्तिपुरमा एक कार्यक्रमको आयोजना गरी वितरण गर्न लागिएको हो ।
अवार्डको तेश्रो संस्करणमा ९५ वटा म्यूजिक भिडियोहरु सहभागी रहेको आयोजक संस्था संसार क्रिएसन्सले जनाएको छ ।
अवार्डको तेश्रो संस्करणमा आइपुग्दा यसलाई राष्ट्रिय अवार्डको रुपमा अगाडी बढाइने र दोश्रो संस्करणमा भन्दा बढि क्याटगरीमा अवार्ड वितरण गरिने संसार क्रिएसन्सका क्रिएटिभ डाइरेक्टर स्वतन्त्र महर्जनले बताए ।
अवार्डको दोश्रो संस्करणमा २८ वटा विधा र उपविधाहरु गरी जम्मा १३० वटा अवार्ड वितरण गरिएको थियो । यस पटक विधाहरु पनि थप हुने र अवार्डको संख्या पनि बढाइने क्रिएटिभ डाइरेक्टर महर्जनको भनाई छ ।
‘नेपालभाषा म्युजिक भिडियो क्षेत्रमा यो पहिलो र सबभैन्दा धेरै विधाहरुमा अवार्ड वितरण गरेको नेपालको एक मात्र म्युजिक भिडियो अवार्ड हो । यस गौरवशाली कार्यक्रमको आयोजना गर्न पाउँदा गौरवान्वित महसुस भएको छ’ महर्जनले भने ।
दर्ता भएका ९५ वटा म्यूजिक भिडियोबाट प्रत्येक विधाको लागि टप १० छनौट गरी चाँडै नै नोमिनेसन घोषणा गरीने महर्जनले जानकारी दिए ।
अवार्डको पहिलो संस्करणमा ७७ वटा र दोश्रो संस्करणमा ८३ वटा म्यूजिक भिडियोहरु दर्ता भएको थियो ।
‘तेस्रो संस्करणमा ९५ सजर्कहरुको सुखद सहभागिताले यो अवार्ड अझ व्यापक र महत्वपूर्ण भएको आभाष गरेका छौं । पहिले अवार्ड प्राप्त गर्नुहुने श्रष्टाहरुले अझ जिम्मेवारीका साथ यस क्षेत्रलाई निरन्तर अगाडि बढाइराख्नु भएको हामीले पाएका छौं’ महर्जनको भनाई हो ।
१५ सदस्यीय निर्णायक मण्डलको टोलीको निर्णयको साथमा अन्य कलाप्रेमी दर्शक जनताहरुको अनलाइन भोटिङ्ग र एस.एम.एस भोटिङ्गमार्फत् प्राप्त मतको आधारमा अवार्ड विजेता छनौट गरिने आयोजक संस्थाले जनाएको छ ।
भोलि हुने प्रमाण पत्र वितरण कार्यक्रममै कलाकार राजु महर्जन ‘जुजु’को परिकल्पना र लेखन रहेको फिल्महरुको स्क्रीप्ट संग्रह पुस्तक ‘नेवाः प्याखं मुना’ पनि सार्वजनिक गरिने भएको छ ।
उक्त पुस्तकमा संसार क्रिएसन्सका क्रिएटिभ डाइरेक्टर स्वतन्त्र महर्जनकै मुख्य भूमिका र निर्देशन रहेको ६ वटा फिल्महरुको स्क्रीप्ट संग्रह गरिएको छ ।
यस पुस्तकलाई फिल्म स्क्रीप्ट संग्रहको नेपालकै पहिलो पुस्तक दावी गरिएको छ ।
Categorized in पेजथ्री