ब्रह्मनालः आस्था, अतिक्रमण, घाट वैद्य र बदलिँदो रूप
SamacharDesk – जलद बैद्य | २०८३ आषाढ ६, शनिबार
वैदिक सनातन संस्कृति र पूर्वीय दर्शनमा जीवन जत्तिकै महत्त्वपूर्ण र पवित्र मानिन्छ—मृत्यु र त्यसपछिको अन्तिम यात्रा । यही अन्तिम यात्राको एउटा सबैभन्दा संवेदनशील, आध्यात्मिक र दार्शनिक प्रतीक हो, ‘ब्रह्मनाल’ ।
शाब्दिक रूपमा ‘ब्रह्म’ (परमेश्वर) र ‘नाल’ (मार्ग वा नली) मिलेर बनेको ब्रह्मनालको अर्थ आत्मा र परमात्माको मिलन गराउने मोक्षको द्वार हो ।
पशुपतिनाथको बागमती किनारमा रहेको ढुङ्गाको विशिष्ट चपटी संरचनालाई ब्रह्मनाल भनिन्छ, जहाँ सदियौँदेखि नेपाली समाजले जीवन र मृत्युको शाश्वत सत्यलाई आत्मसात् गर्दै आएको छ ।
पौराणिक मान्यता अनुसार, पशुपतिनाथको गर्भगृहमा चढाइएको पवित्र अघ्र्य जल सिधै बगेर ब्रह्मनालमा समाहित हुन्छ ।
ऐतिहासिक कालदेखि नै राजा–महाराजादेखि सर्वसाधारणसम्मले पशुपतिको यही ब्रह्मनालमा आफ्नो प्राण विसर्जन गर्ने इच्छा राख्नु यसको उच्च धार्मिक गरिमाको प्रमाण हो । तर, आधुनिकताको तीव्र लहर, बदलिँदो जीवनशैली र कमजोर व्यवस्थापनका कारण आज यो ऐतिहासिक धरोहर आफ्नो मूल मर्म र स्वरूप गुमाउने जोखिममा परेको छ ।
धार्मिक, आध्यात्मिक र भौतिक महत्त्व
हिन्दू जीवन पद्धतिमा ब्रह्मनालको महत्त्व केवल एउटा भौतिक स्थानका रूपमा मात्र नभएर गम्भीर आध्यात्मिक र शारीरिक चेतनासँग जोडिएको छ ।
वैदिक सनातन दर्शन अनुसार मानिस चौरासी लाख योनीको चक्रब्युहमा घुमिरहन्छ । ब्रह्मनाललाई त्यो चक्रबाट मुक्त भई सिधै मोक्ष प्राप्त गर्ने अन्तिम विन्दु मानिन्छ ।
पशुपतिको ब्रह्मनालमा प्राण त्याग्दा स्वयम् भगवान शिवले जीवको कानमा ’तारक मन्त्र’ फुकेर भवसागर पार गराउनुहुन्छ भन्ने अकाट्य धार्मिक विश्वास रहिआएको छ ।
यो आध्यात्मिक मान्यतालाई भौतिक रूपमा पुष्टि गर्न ब्रह्मनालको ठीक माथि (शिरानपट्टि) एउटा ऐतिहासिक शिवलिङ्ग स्थापित छ ।
ब्रह्मनालमा सुताइएको व्यक्तिको शिर ठ्याक्कै यही शिवलिङ्गको फेदमा पर्छ । मानिसले आफ्नो जीवनको अन्तिम श्वास फेर्दा भगवान शिवको लिङ्गरूपी चरणमा शिर राखेर प्राण त्याग्न पाओस् र उसलाई अभयदान मिलोस् भन्ने हेतुले यो लिङ्ग त्यहाँ स्थापना गरिएको हो ।
जतिसुकै धनी वा शक्तिशाली व्यक्ति भए पनि अन्तिम समयमा त्यही एउटा चिसो ढुङ्गामा सुतेर रित्तो हात बिदा हुनुपर्छ भन्ने कटु सत्यको बोध गराउने यो एउटा महान् दार्शनिक पाठशाला पनि हो भन्दा फरक नपर्ला
मन्दिरको मूल गर्भगृहबाट बहँदै आउने पञ्चामृत र अर्घ्य जल यही शिव लिङ्गको मुनिबाट भएर मात्र ब्रह्मनालको ढुङ्गा हुँदै बागमती नदीमा मिसिन्छ ।
योग र तन्त्र शास्त्रको कोणबाट हेर्दा शरीरमा भएका विभिन्न नाडीहरूमध्ये ’सुषुम्णा नाडी’ (जसलाई ब्रह्मनाडी पनि भनिन्छ) को मार्ग हुँदै जब प्राण मस्तिष्कको माथिल्लो भाग (ब्रह्मरन्ध्र) बाट बाहिर निस्कन्छ, तब व्यक्ति बन्धनमुक्त हुन्छ ।
ब्रह्मनाललाई त्यही आन्तरिक आध्यात्मिक प्रक्रियाको बाह्य भौतिक प्रतीक मानिन्छ । यसले मानिसलाई जीवनको अहंकार र मोहबाट मुक्त हुन सिकाउँछ ।
जतिसुकै धनी वा शक्तिशाली व्यक्ति भए पनि अन्तिम समयमा त्यही एउटा चिसो ढुङ्गामा सुतेर रित्तो हात बिदा हुनुपर्छ भन्ने कटु सत्यको बोध गराउने यो एउटा महान् दार्शनिक पाठशाला पनि हो भन्दा फरक नपर्ला ।
प्राचीन समयमा ब्रह्मनालको गरिमा र समयको विज्ञानलाई व्यवस्थापन गर्न घाट वैद्यको भूमिका अपरिहार्य हुन्थ्यो । ब्रह्मनाल र घाट वैद्यबीचको सम्बन्ध शरीर र आत्मा जत्तिकै अनन्य थियो ।

आजको जस्तो आधुनिक चिकित्सा र इसिजी (ECG) मेसिन नभएको त्यो युगमा आयुर्वेद र ‘अरिष्ट लक्षण’ (मृत्युका सूचकहरू) का ज्ञाता यिनै घाटे वैद्य नै अन्तिम निर्णायक हुन्थे ।
जब बिरामीको अवस्था गम्भीर हुन्थ्यो, उनलाई पशुपतिको घाटमा ल्याएर राखिन्थ्यो । घाट वैद्यले बिरामीको नाडी छामेर, श्वासको गति र आँखाको नानी नियालेर प्राण जाने सटीक समय आंकलन गर्थे ।
‘अब केही मिनेट वा घण्टा मात्र बाँकी छ’ भन्ने यकिन भएपछि वैद्यकै निर्देशनमा बिरामीलाई ब्रह्मनालको ढुङ्गामा सारिन्थ्यो । वैद्यको गणना ढिलो या चाँडो भएमा ब्रह्मनालको मर्म बिग्रने डर हुन्थ्यो ।
ब्रह्मनालमा सुताएपछि वैद्यहरूले अन्तिम क्षणको ‘आध्यात्मिक गाइड’ का रूपमा बिरामीको मुखमा बागमतीको शुद्ध जल हालिदिने, तुलसीको पात राखिदिने र कानमा भगवानको नाम सुनाउने गर्थे ।
शरीर चिसो भइसकेपछि नाडी र श्वास पूर्ण रूपमा रोकिएको यकिन गरेर वैद्यले ‘प्राण गयो’ भनी प्रमाणित गरेपछि मात्र शवलाई चितामा लैजाने अनुमति मिल्थ्यो । यो विशिष्ट ज्ञान निश्चित नेवार समुदायमा पुस्तान्तरण हुँदै ब्रह्मनालको सेवामा समर्पित थियो ।

शास्त्र र परम्पराको कडीमा हेर्ने हो भने ब्रह्मनाल ‘मरणशय्या’ हो, ‘शवशय्या’ (मृत शरीर राख्ने ठाउँ) होइन । यसको मूल विधि नै मानिसको शरीरमा प्राण रहुन्जेल उसलाई ब्रह्मनालमा सुताएर खुट्टाका औँलाहरू बागमतीको जलमा डुबाउनु हो ।
प्रकृतिको खुला काखमा चेतनालाई परमात्मामा विलीन गराउनु यसको मर्म हो ।
तर, वर्तमान समयमा यस परम्परामा एउटा ठूलो सांस्कृतिक विचलन आएको छ । आजभोलि ब्रह्मनालमा मानिसलाई जीवित अवस्थामा भन्दा पनि मृत्यु भइसकेपछि उसको शवलाई मात्र राख्ने प्रचलन व्यापक बनेको छ ।
शास्त्रीय दृष्टिकोणले यो अभ्यास पूर्णतः अर्थहीन छ, किनकि प्राण गइसकेपछि शरीर केवल माटो बन्दछ । यसले गर्दा प्राचीन कालदेखि ब्रह्मनाल र घाटे वैद्यबीच रहेको त्यो जीवन्त सम्बन्ध पनि आज लगभग समाप्त भइसकेको छ ।
यस विचलनको पछाडि आधुनिक अस्पताल संस्कृतिको ठूलो हात छ । आज बहुसंख्यक मानिसको अन्तिम घडी अस्पतालको आइसियू (ICU) वा भेन्टिलेटरमा बित्छ । चिकित्सकले मृत घोषित गरेपछि मात्र परिवारले शवलाई पशुपति ल्याउँछन् ।
यो समाजको व्यावहारिक बाध्यता भए पनि यसले ब्रह्मनालको वास्तविक गौरव र वैद्यहरूको भूमिका दुवैलाई इतिहासको पानामा सीमित गरीदिएको छ
यस्तो अवस्थामा, आफ्ना प्रियजनलाई सिधै चितामा चढाउनु अघि पशुपतिनाथको पाउको जल स्पर्श गराइयोस् र गोडा धुन पाइयोस् भन्ने एउटा भावुक र भावनात्मक सन्तोषका लागि मात्र अहिले मृत्युपछि ब्रह्मनालमा राख्ने गरिएको देखिन्छ ।
यो समाजको व्यावहारिक बाध्यता भए पनि यसले ब्रह्मनालको वास्तविक गौरव र वैद्यहरूको भूमिका दुवैलाई इतिहासको पानामा सीमित गरीदिएको छ ।
यस सांस्कृतिक विचलनका अतिरिक्त ब्रह्मनालको भौतिक र वातावरणीय अस्तित्त्वमाथि पनि विभिन्न समयमा गम्भीर प्रश्नहरू उठेका छन् ।
पशुपति क्षेत्र विकास कोषले विभिन्न समयमा ल्याएका दीर्घकालीन गुरुयोजनाहरूमा ब्रह्मनाल र आर्यघाटलाई हालको ऐतिहासिक स्थानबाट सारेर आधुनिक विद्युतीय शवदाह गृह नजिकै लैजाने प्रस्तावहरू गरिए ।
संस्कृतिविद् र स्थानीय समुदायको तीव्र विरोधका कारण त्यो रोकिए पनि यस्ता प्रयासले प्राचीन इन्जिनियरिङ र परम्परामाथिको अदूरदर्शी सोचलाई छताछुल्ल पारेको छ ।

पशुपतिनाथको मूल मन्दिरको संवेगात्मक प्रवाह र अर्घ्य जलको निकाससँग जोडिएको यो प्राचीन संरचनालाई स्थानान्तरण गर्नु भनेको यसको ऐतिहासिकता र प्राण मास्नु सरह हो ।
यसका साथै बागमती नदीको बढ्दो प्रदूषण अर्को दुःखद पक्ष हो । ढल र फोहोर मिसावटका कारण मरणशय्यामा रहेका व्यक्तिको गोडा दूषित पानीमा डुबाउनुपर्ने स्थिति छ, जसले यसको पवित्रतालाई धमिल्याएको छ ।
त्यस्तै, आधुनिक युगमा बढेको भीडभाड, सामाजिक सञ्जाल र ‘भ्लगिङ’ संस्कृतिका कारण मृत्युको मुखमा पुगेका व्यक्तिको गोपनीयता र वैराग्यपूर्ण शान्ति भंग हुनु ब्रह्मनालको अर्को व्यावहारिक गलत प्रयोग हो ।
मलामी र पर्यटकको भीडमा अन्तिम क्षणको जुन गम्भीरता हुनुपर्ने हो, त्यो अचेल हराउँदै गएको छ ।
ब्रह्मनालको प्राचीन भौतिक स्वरूप र बागमतीको शुद्धता कायम राख्नु र यस क्षेत्रको आध्यात्मिक सान्दर्भिकतालाई व्यापारीकरण र प्रविधिको भीडभाडबाट मुक्त राख्नु नै यस अमूर्त सम्पदाप्रतिको सच्चा सम्मान हुनेछ
ब्रह्मनाल केवल ढुङ्गाको एउटा टुक्रा वा घाटको एउटा कुना मात्र होइन; यो जीवनको अनित्यता, अद्वितीय धार्मिक गरिमा र मृत्युको शाश्वत सत्यलाई शान्तपूर्वक स्वीकार गर्ने हाम्रो मौलिक दर्शन हो ।
अस्पताल संस्कृतिका कारण मृत्युपछि ब्रह्मनालमा राख्नु आजको सामाजिक बाध्यता बने पनि यसको मौलिक र आध्यात्मिक मर्मलाई भुल्नु हुँदैन ।
यदि चिकित्सकहरूले बचाउन असम्भव भनिसकेका बिरामी छन् भने, परिवारको सहमतिमा प्राण हुन्जेल नै घाट क्षेत्रमा ल्याएर राख्ने पुरानो ‘घाटबासी’ संस्कृतिलाई जीवन्त राख्न सके ब्रह्मनालको महत्त्व जोगिने थियो ।
ब्रह्मनालको प्राचीन भौतिक स्वरूप र बागमतीको शुद्धता कायम राख्नु र यस क्षेत्रको आध्यात्मिक सान्दर्भिकतालाई व्यापारीकरण र प्रविधिको भीडभाडबाट मुक्त राख्नु नै यस अमूर्त सम्पदाप्रतिको सच्चा सम्मान हुनेछ ।
सरकार र सरोकारवाला निकायले समयमै यसतर्फ ध्यान दिनु जरुरी छ ।
Categorized in विचार




