सुर्खेत र मकवानपुर दुर्घटनामा सातको मृत्यु
SamacharDesk | २०८१ जेठ १७, बिहिबार
सुर्खेतबाट कालीकोट आउँदै गरेको जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी ज्यान गुमाएका चारमध्ये तीन जनाको सनाखत भएको छ । मृतक सबै कालीकोटका रहेका छन् । भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ ।
प्रहरीका अनुसार आज विहान दुई बजे ६ जना यात्रु लिएर कालिकोट आउँदै गरेको जिप सडकबाट ३ सय मिटर तल खसेको थियो । मृत्यु हुनेहरुमा कालीकोटको शुभकालीका गाउँपालिका–३ का ३७ वर्षीय वीरेन्द्र बिक, ३१ वर्षीय नवराज बिक र २१ वर्षीया पुष्पा विक रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी ज्यान गुमाएका अर्का एक जनाको भने सनाखत हुन बाँकी छ । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको र दुई जना घाइते भएको प्रहीले जनाएको छ ।
घाइते हुनेमा कालीकोटको खाँडाचक्र नगरपालिका ७ का २५ वर्षीय नरेन्द्र बिष्ट र शुभकालिका गाउँपालिका ३ का २८ वर्षीय नरि बिक रहेका छन् । बिष्ट बोलेरो चालक हुन् । घाइते दुई जनाको प्रादेशीक अस्तपाल सुर्खेतमा उपचार भइरहेको छ ।
यता मकवानपुरको भीमफेदी जुरीखेतमा भएको कार दुर्घटनामा तीनजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता लक्ष्मी भण्डारीले भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा काठमाडौँबाट हेटौँडा आउँदै गरेको बा ६च ९३७९ नम्बरको कार हिजो साँझ अनियन्त्रित भएर सडकबाट दुई सय ५० मिटर तल खसेको जानकारी दिनुभयो ।
कारमा रहेका पाँच जनामध्ये एक जनाको घटनास्थलमा र दुई जनाको हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
उता काठमाडौँबाट म्याग्दीको बेनी जाँदै गरेको बस कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ लेवाडेमा दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । बसमा सवार १३ जनामध्ये आठ जना घाइते भएका छन् ।
Categorized in समाज