यल अन्तर सहकारीको अध्यक्षमा सुशन
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८१ भाद्र १, शनिबार

यल अन्तर सहकारी समन्वय समितिमा सुशन श्रेष्ठ नयाँ अध्यक्ष चयन भएका छन् । समितिको सातौं साधारणसभाले सुशन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।
नव निर्वाचित अध्यक्ष श्रेष्ठ मंगलबजारस्थित उत्सर्ग बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष हुन् ।
ललितपुर स्थित १४ वटा सहकारीहरुको संजालको रुपमा रहेको समन्वय समितिको शुक्रबार सम्पन्न सभाले नयाँ कार्यसमिति चुनेको हो ।
नयाँ कार्य समितिको उपाध्यक्षमा नारायण तण्डुकार चयन भएका छन् ।
त्यस्तै सदस्यहरु यल अन्तर महिला संजाल संयोजक ललिता श्रेष्ठ, उपसंयोजक अर्चना तण्डुकार, यल अन्तर म्यानेजर क्लब संयोजक विश्व खड्गी उपसंयोजक विनोद महर्जन लगायतको चौध सदस्यीय समिति गठन भएको छ ।
चौध सहकारी संस्थामा सदस्यहरूको संख्या ७ हजार ७ सय रहेको छ ।
नव निर्वाचित अध्यक्ष श्रेष्ठले सहकारी क्षेत्रमा हाल देखिएका समस्या समाधानमा पहल गर्ने, खराब ऋण उठाउने, तरलता समाधान गर्ने र सदस्यहरुलाइ सहकारी शिक्षाको अभिमुखिकरण र नेतृत्व विकास लगायतका कार्यक्रमहरु संचालन गर्ने बताएका छन् ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा ललितपुर बचत संघका अध्यक्ष रामहरि बजगाईंको समेत उपस्थिती रहेको थियो ।
Categorized in बिजनेस