आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा भारतसँग पाकिस्तान पराजित
SamacharDesk | २०८१ जेठ २८, सोमबार
![](https://www.samachardesk.com/sites/default/files/india%20pakistan.jpg)
आइसिसी ट्वान्टी–२० विश्वकपको बहुप्रतिक्षित खेलमा भारतले पाकिस्तानलाई ६ रनले हराएको छ ।
अमेरिकाको न्युयोर्कमा गएराति भएको खेलमा टस हारेर पहिले व्याटिङ गरेको भारतले १९ ओभरमा अलआउट हुँदै ११९ रन बनायो ।
भारतले दिएको १२० रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ११३ रन मात्रै बनाउन सकेको थियो । भारतका लािग रिसभ पन्तले सर्वाधिक ४२ रन जोड्दा पाकिस्तानका नसिम शाह र हरिस राउफले ३–३ विकेट लिए ।
पाकिस्तानका मोहोमद रिजवानले ३२ रन बनाउँदा भारतका जसप्रित बुमराहले ३ विकेट लिए ।
पाकिस्तानका इमाद वसिम १५ रनमा आउट हुँदा बाबर आजम, उस्मान खान र फखर जमानले समान १३ रन बनाए। जितसँगै भारतले समुह ‘ए’ मा दुई खेलबाट ४ अंक जोड्दै अग्रता लिएको छ ।
लगातार दुई खेलमा पराजित पाकिस्तान भने समुह चरणबाटै बाहिरिने अवस्थामा पुगेको छ । विश्वकप क्रिकेटमा हिजो भएको अर्को खेलमा स्कटल्याण्डले ओमानलाई ७ विकेटले हराएको छ ।
विश्वकपमा आज बेलुकी बंगलादेश र दक्षिण अफ्रिका भिड्नेछन् । नेपालको समुहको यो खेल न्युयोर्कमा बेलुकी सवा ८ बजे सुरु हुनेछ ।
Categorized in स्पाेर्ट्स![](https://www.samachardesk.com/sites/default/files/BannerAd.jpg)