लकडाउनको समयमा 'द मिथ 0' युट्यूबमा रिलिज
SamacharDesk – विकाश | २०७७ बैशाख २२, सोमबार

पेजथ्री पाक्षिकको ब्यानरमा निर्माण भएको लघु चलचित्र 'द मिथ 0' युट्युबमार्फत विश्वव्यापी रिलिज भएको छ ।
दुइ वर्ष अघि सम्पन्न नेपालभाषाको लघु चलचित्र प्रतियोगीतामा दोश्रो पुरस्कार जित्न सफल 'द मिथ 0' हालै मात्र युट्युबमार्फत सार्वजनिक भएको हो ।
पेजथ्री पाक्षिकले यो भन्दा अघि 'द मिथ' लघु चलचित्र निर्माण गरेको थियो भने यसले सन् २०१४ मा भएको लघु चलचित्र प्रतियोगीतामा प्रथम पुरस्कार जितेको थियो ।
सोही 'द मिथ;को प्रिक्वेलको रुपमा 'द मिथ 0' चलचित्र निर्माण गरेको निर्देशक साथै पेजथ्री पाक्षिकका सम्पादक दर्शनवीर शाक्यले बताए ।
‘द मिथ'को बाँकि अंशको रुपमा 'द मिथ 0' निर्माण गरेको हो । तर द मिथ जीरो भने द मिथको सिक्वेल नभइ प्रिक्वेल अर्थात कथाको अगाडीको पाटो रहेको छ’ निर्देशक शाक्यले भन्नुभयो ।
'द मिथ 0' मा नेपालभाषा सिने जगतका चर्चित कलाकार रूपेन श्रेष्ठ थक्वाःमि र आराध्या लक्ष्मी खड्गीको जोडी रहेको छ । साथमा भेट्रान कलाकार राजेन्द्रमान शाक्यको पनि विशेष भूमिका रहेको छ ।
यस शर्टमूभीका निर्माता नरेशवीर शाक्य हुन । स्क्रीप्ट र निर्देशन पेजथ्री पाक्षिकका सम्पादक दर्शनवीर शाक्यको रहेको छ । सहायक निर्देशन र एक्शन निर्देशनमा राजन शाही छन ।
क्यामेरा, सम्पादन र ध्वनीमा मनोजरत्न शाहीले काम गरेका छन् ।
अवार्ड विनिङ चलचित्र सार्वजनिक हुन किन दुई वर्ष लागेको भन्ने प्रश्नमा निर्माता नरेशबीर शाक्यले भन्नुभयो, ‘एक वर्षसम्म सार्वजनिक गर्न नहुने शर्त प्रतियोगीताका आयोजकहरुको थियो । एक वर्षपछि हामी अर्को लघु चलचित्र 'इन्द्रायणी'को निर्माणमा व्यस्त भएर ढिला भएको हो ।’
अहिले लकडाउनको समयमा सबै घरघरमै बसिरहनु परेको समयमा सबैको मनोरन्जनको लागि पनि केही सहयोग होला कि भनेर पनि यो समयमा सार्वजनिक गरिएको निर्माता शाक्यको भनाई रहेको थियो ।
७ जना संचारकर्मीको संलग्नता रहेको लघु चलचित्र
७ जना संचारकर्मीहरुकोे संलग्नता यो लघु चलचित्रको एउटा विशेषताको रुपमा लिन सकिन्छ ।
‘यसमा विभिन्न संचारमाध्यममा सक्रिय ७ जना संचारकर्मीहरुको संलग्नता छ । यो कुनै योजना नै त होइन, संयोग मात्र हो’ शाक्यले भन्नुभयो ।
चलचित्रमा कविन्द्र महाराज प्रताप मल्लको भूमिकामा ईमेज च्यानलमा नेपालभाषाका समाचारवाचक साथै समाचारडेस्क डट कमका सम्पादक बिराजकाजी राजोपाध्याय छन् ।
त्यसैगरी शिक्षकको भूमिकामा रेडियोकर्मी नविन थेच्वमि छन् ।
शुभ अभियान मिडियाका संचालक प्रेरणा शाक्यले पनि छोटो भूमिकामा अभिनय गरेका छन् ।
त्यसैगरी अर्का एक कलाकार अर्विन्द्रमान सिं नेवाः पत्रकार राष्ट्रिय दबू, काठमाडौंका अध्यक्ष हुन ।
क्यामेरा, दृश्य सम्पादन र ध्वनीमा आफ्नो कला देखाएका मनोजरत्न शाही नेवाः एचडी टिभिमा आवद्ध छन् ।
निर्माता नरेशवीर शाक्य ईलोहँ प्रकाशनका प्रवन्ध निर्देशक हुन् । ईलोहँ प्रकाशनले महिनामा ८ वटा नेपालभाषाका विभिन्न पत्रिका प्रकाशित गर्दै आएको छ ।
निर्देशक दर्शनवीर शाक्य नेपालभाषाको मनोरंजनात्मक पाक्षिक पत्रिका पेजथ्रीका सम्पादक हुन् ।
मुख्य भूमिकामा रहेकी आराध्यलक्ष्मीले पनि विगतमा काष्ठमण्डप टेलिभिजन र डिस होममा कार्यक्रम संचालन गरिसकेकि छिन् भने विगतमा नेवाः अनलाईन न्यूजमा आवद्ध राकेश महर्जनलाई एउटा दृश्यमा देख्न सकिन्छ ।
मे १ तारीखमा अपलोड भएको चलचित्रको भ्यूज दुइ दिनमा १६ सय नाघेको छ ।
Categorized in पेजथ्री