‘उपभोक्ताले सुन किन्न राम्रो समय छ’
SamacharDesk – बिराज | २०७७ माघ ६, मंगलबार

नेपाल सुनचाँदी व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष माणिकरत्न शाक्यले उपभोक्ताका लागि सुन किन्न अहिले राम्रो समय भएको बताएका छन् ।
समाचारडेस्कसँग कुराकानी गर्दै अध्यक्ष शाक्यले अहिले सुनको भाउ ओरालो लागिरहेको समयमा उपभोक्ताको लागि सुन्न किन्न राम्रो अवसर सावित हुने बताउनुभयो ।
‘हिजोको दिनमा सुनको भाउ एक लाख ३ हजार बढि भइसकेको थियो, आज ९२ हजार छ, ११ हजार बढि भाउ घटेको छ,’ शाक्यले बताउनुभयो । ‘अब घटेमा केही हजार घट्ला, बढ्यो भने धेरै बढ्ने सम्भावना छ ।’
पछिल्ल्ला दिनहरुमा सुनको भाउ ओरालो लाग्ने क्रम जारी छ । तर आज भने तोलामा ४ सय रुपैयाँले बढेको छ । हिजो ९१ हजार ६ सय प्रति तोलामा कारोबार भएको सुनको भाउ आज ९२ हजार पुगेको छ ।
त्यस्तै चाँदिको भाउ पनि १५ रुपैयाँले बढेको छ । चाँदिको भाउ हिजो एक हजार २ सय ३० रुपैयाँ प्रति तोला थियो भने आज एक हजार २ सय ४५ रुपैयाँ प्रति तोलामा कारोबार हुँदैछ ।
बजार भाउ अनुसार सुनको भाउ पनि बढ्नु स्वाभाविक भएको बताउँदै शाक्यले भाउको थपघट हेरेर उपभोक्ता पनि चनाखो भई बजारबाट लाभ उठाउन सक्नुपर्नेमा पनि शाक्यले जोड दिनुभयो ।
‘हिजो एक दुई लाख रोपनीमा पाइने जग्गा, आज आनाकै १ं०–१२ लाख पनि पुग्यो, सुनको भाउ मात्र नबढ्ने भन्ने त हुँदैन,’ शाक्यले भन्नुभयो । ‘बरु उपभोक्ताले सस्तोमा किन्ने, महँगोमा बेच्ने गर्दा फाइदा नै होला ।’
सुनमा निसंकोच लगानी गर्न सकिने दावी गर्दै शाक्यले उपभोक्ताको सुविधाको लागि पनि महासंघले पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
Categorized in बिजनेस