नेपालभाषाका तीनवटा म्यूजिक भिडियाे एकसाथ सार्वजनिकः भिडियाेसहित
SamacharDesk – बिराज | २०८१ मङ्सिर १४, शुक्रबार
पछिल्लो समय नेपालभाषाका नयाँ म्यूजिक भिडियोहरु निरन्तर सार्वजनिक हुने क्रम जारी छ । यसै क्रममा बिहिवार नेपालभाषाका एक साथ तीन वटा म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
मतिना इन्टरटेनमेन्टबाट काठमाडौंमा आयोजित एक कार्यक्रममा ‘लिक्क लिक्क’, ‘पानवती मैयाँ’ र ‘छंगु मतिना’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो । नेपाली चलचित्र क्षेत्रकी आमा भनेर चिनिने ‘आमा’ चलचित्रमा आमाको भूमिका निर्वाह गर्नुभएकी वरिष्ठ अभिनेत्री चैत्यदेवी सिंहको उपस्थितीमा उक्त म्यूजिक भिडियोहरु सार्वजनिक भएको हो ।
कार्यक्रममा बोल्दै वरिष्ठ अभिनेत्री सिंहले नेपालभाषाको कला क्षेत्रले व्यापकता पाउँदै गएकोमा खुसी व्यक्त गरिन् । वर्तमान समयमा नेपालभाषाको कला क्षेत्रमा महिला कलाकारहरुको साथमा महिला निर्देशक पनि देखिन थालेको भन्दै कलाकार, निर्देशक आराध्यालक्ष्मी खड्गीलाई अगाडी बढ्न शुभकामना दिइन् ।
आयोजकका तर्फबाट बोल्दै निर्देशक, कलाकार खड्गी र कलाकारको साथमा मतिना इन्टरटेनमेन्टका संस्थापक विजयमान सिंहले आफुहरुले निकै मिहिनेत गरेर स्तरीय म्यूजिक भिडियो निर्माण गर्न कोशिश गरेको बताउँदै नेवाः कला र कलाकार क्षेत्रलाई माया गरिदिन अनुरोध गरे ।
कार्यक्रममा वरिष्ठ गायक जुजुकाजी रंजित, वरिष्ठ कलाकार नारायणदेवी प्रधान, राजमति चलचित्रकी राजमति हिसिला महर्जन, वरिष्ठ निर्देशक प्रकाश सायमि, वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधर लगायतले आआफ्ना विचार राखेका थिए ।
साथमा ‘छंगु मतिना’ र ‘पानवती मैयाँ’ की सह कलाकार सुर्जलक्ष्मी खड्गी र ‘छंगु मतिना’का गायक राजकुमार मानन्धरले पनि आफ्ना अनुभव बाँडेका थिए ।
कार्यक्रममा गीत र म्यूजिक भिडियो निर्माणमा योगदान दिने कलाकार, प्राविधिकहरुलाई सम्मान गरिएको थियो । साथमा कलाकार, निर्देशक खड्गीकी हजुरआमा विजुलीमाया खड्गीलाई विशेष सम्मान गरिएको थियो ।
सार्वजनिक गरिएको गीत ‘लिक्क लिक्क’ को रचना, संगीत डबल शाक्यको रहेको छ भने शाक्य र रत्नशोभा महर्जनले गाएका छन् । आराध्यालक्ष्मी र श्रीकृष्ण खड्गीको अभिनय रहेको छ भने निर्देशन राजेशमान सिंहले गरेका छन् ।
त्यस्तै आनन्द रत्न बज्राचार्यको रचना र अनिल तुलाधरको संगीत रहेको ‘पानवती मैयाँ’मा निशा देसारले आवाज दिएकी छिन् । आराध्यालक्ष्मीले विजयमान सिंहसँग अभिनय गर्नुका साथै म्यूजिक भिडियोको निर्देशन पनि गरेकी छिन् ।
राजकुमार मानन्धरले ‘छंगु मतिना’ गीतको रचना गरेर संगीत दिनुका साथै गाएका पनि छन् । गायनमा राजकुमारलाई निशा देसारले साथ दिएकी छन्र । यस गीतमा पनि विजयमान सिंह र आराध्यालक्ष्मीले नै अभिनय गरेका छन् भने कोरीयोग्राफी र निर्देशन पनि आराध्याकै रहेको छ ।
तीनवटै म्यूजिक भिडियाको छायाङ्कन र दृश्य सम्पादन सोहन मानन्धरले गरेका छन् ।
‘छंगु मतिना’ को म्यूजिक भिडियो मतिना इन्टरटेनमेन्ट युट्युब च्यानलबाट सार्वजनिक भइसकेको छ । ‘पानवती मैयाँ’ र ‘लिक्क लिक्क’ को म्यूजिक भिडियो पनि चाँडै नै मतिना इन्टरटेनमेन्ट युट्युब च्यानलबाटै सार्वजनिक हुने जानकारी निर्देशक, कलाकार आराध्यालक्ष्मीले दिएकी छिन् ।
Categorized in पेजथ्री