राजधानीमा टोल टोलमा फिल्म महोत्सव सुरु
SamacharDesk – विजयरत्न | २०८३ आषाढ ६, शनिबार
काठमाडौं महानगरपालिकाले शुक्रवार साँझ खुला मञ्चबाट ‘टोल टोलमा फिल्म महोत्सव’ को औपचारिक शुभारम्भ गरेको छ ।
महोत्सवको सुरुवातमा खुला मञ्चमा अमन शाही निर्देशित सर्ट फिल्म ‘नन्द’, ताराङ् निर्देशित सर्ट फिल्म ‘सवारी साहित्य’ तथा इशान भुषाल निर्देशित सर्ट फिल्म ‘पेन्गुइन रिभोलुसन’ प्रदर्शन गरिएको छ ।
महोत्सवका कार्यक्रम असार महिनाभरी हरेक शुक्रवार तथा शनिवार सञ्चालन हुनेछ ।
कार्यक्रममा प्रदर्शन गरिने सर्ट फिल्म चलचित्र विकास बोर्ड, ब्रिटिस काउन्सिल नेपाल, युनेस्को, काठमाडौँ माउन्टेन इन्टरनेशनल फिल्म फेस्टिभल, नेपाल फिल्म एकेडेमीसँग सहकार्यमा प्राप्त भएको कामपाले जनाएको छ ।
कार्यक्रमको प्राविधिक पक्ष महानगरपालिका आफैँले व्यवस्थापन गरेको छ भने व्यवस्थापनका लागि खुला आह्वानबाट स्थानीय संघसंस्थाहरु छनोट गरेको छ । यस अन्तर्गत शुक्रबारको कार्यक्रम इकोज इन द भ्यालीले गरेको थियो ।
आज शनिवार असन क्षेत्रमा महोत्सव हुनेछ । यो कार्यक्रम नीलः सांस्कृतिक क्लवले गर्नेछ ।
अबका कार्यक्रमहरु बालाजु बाइपास क्षेत्र, बागबजार सडकखण्ड, यट्खा बहाल भाष्करकीर्ति महाविहार, लगनटोल, मैतीदेवी मन्दिर खुला चौरमा हुनेछ ।
सार्वजनिक स्थल, पार्क, डवली, चोकहरुमा फिल्म महोत्सवका कार्यक्रम आयोजना गर्ने योजना अनुरुप यी स्थान छानिएका हुन् ।
नेपाली फिल्म क्षेत्रको विकास र विस्तारलाई योगदान दिन रचनात्मक उद्योग र समुदायसँग जोड्नु यो महोत्सवको मुख्य उद्देश्य रहेको कामपाले जनाएको छ ।
महोत्सवमा लघु चलचित्र प्रदर्शन, चलचित्र, कला तथा रचनात्मक उद्योग लगायत विषयमा संवाद, सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रम तथा क्रियाकलापको साथमा मौलिक खानाका परिकारका स्टलहरु राखिनेछ ।
Categorized in स्थानीय




