arin enterprises

‘लमपामा रोकिएका परम्परा अब रोकिन्न’– वडाध्यक्ष शाक्य

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० माघ २८, आइतबार

ललितपुर महानगरपलिका वडा ६ का अध्यक्ष साथै १२ वर्षे जात्रा व्यवस्थापन समितिका संयोजक रुपेन्द्र राज शाक्यले पाटनमा अब पचली भैरव १२ वर्षे खड्गसिद्धि जात्रा रोकिन नदिने बताएका छन् ।

२४ वर्षको अन्तराल पछि यस वर्षबाट सुरु भएको जात्रा शनिबार हःखास्थित कोतमा सम्पन्न भइरहँदा वडाध्यक्ष शाक्यले यस्तो भनेका हुन् ।

विगतमा २०५६ साल पछि पाटनमा बन्द हुन पुगेको काठमाडौंको पचली भैरव १२ वर्षे खड्गसिद्धि जात्रा पाटनमा यस वर्षबाट पुनः सुचारु भएको हो ।

यस क्रममा गत शुक्रबार र शनिबार दुई दिन पाटन हःखास्थित कोतमा पचली भैरव देवगणको नाच प्रस्तुत गरिएको थियो ।

‘ललितपुर महानगरपलिका भित्र यस पटक नरदेवी, रुद्रायणी र पचली भैरवको जात्रा समेत गरेर तीन वटा १२ बर्षे जात्राले निरन्तरता पाएको छ । हाम्रो उद्देश्य नै लमपा भित्र रोकिएका जात्रा परम्परालाई फेरी निरन्तरता दिइ यसको उचित संरक्षण गर्नु हो’ शाक्यले बताए ।

यो नाच लमपा भित्र फेरी निरन्तर गर्न प्रस्ताव आएपछि ललितपुरका मेयर चिरीबाबु महर्जनले पनि यसलाई जसरी भए पनि निरन्तर गर्नुपर्नेमा जोड दिएको शाक्य बताउँछन् ।

शाक्यका अनुसार यो नाचको सम्पूर्ण व्यवस्थापन लमपाले नै गरेको हो । देवगणलाई स्वागत, सरसफाई, देवगणहरु बस्ने ठाँउ, शौचालय, आवश्यक बत्ती, पूजा सामग्री लगायत सम्पूर्ण व्यवस्थापन एक लाख रुपैयाँमा गरिएको वडाध्यक्ष शाक्यले जानकारी दिए ।

लमपा उद्योग पर्यटन तथा संस्कृतिक संरक्षण समिति अन्तर्गत जात्रा व्यवस्थापनका कामहरु गरिएको थियो ।

२४ बर्षपछि पाटन आएका देवगण र गुठियारहरुको सम्मानको साथै दुई समूह बिच सांस्कृतिक सद्भाव कायम होस् भनेर आफुहरुले भोजन व्यवस्थापन गरेको ठेचो नवदुर्गा भवानीदेवी गुठि संचालक समितिका सल्लाहकार प्रशान्त मालीले बताए ।

पाटनमा २४ वर्षसम्म टुटेको यो संस्कृतिलाई अवलोकन गर्न पाटनबासीहरु हर्षोल्लासका साथ बिहानदेखि बेलुकासम्मै नाचमा सामेल भएका थिए । अजिमाको नृत्यपछि देवगणहरु पुनः काठमाडौँ ज्याबहाल फर्किएसँगै पाटनमा पचली भैरवको १२ बर्षे नाच सम्पन्न भएको छ ।

यो पनि पढौँ : पाटन आइपुग्यो पचली भैरव

Categorized in संस्कृति