नाइजेरियामा सात महिनापछि ट्वीटरमाथिको प्रतिबन्ध फुकुवा
SamacharDesk – समाचारडेस्क | २०७८ पौष २९, बिहिबार

नाइजेरियाले बिहीबार मध्यरातबाट ट्वीटरलाई लगाएको प्रतिबन्ध सात महिनापछि हटाएको छ ।
ट्वीटरले स्थानीय कार्यालय खोल्नेलगायत अन्य सहमति गरेपछि नाइजेरियाले उक्त प्रतिबन्ध हटाएको त्यहाँको सरकारी अधिकारीले जनाएको छ ।
गत जुन ४ मा ट्वीटरले नाइजेरियाका राष्ट्रपति मोहम्मदु बुहरीको ट्वीट हटाएपछि त्यहाँको सरकारले ट्वीटरमाथि प्रतिबन्ध लगाएको थियो ।
राष्ट्रपति बुहरीले त्यहाँका क्षेत्रीय विखण्डनवादीहरूलाई दण्ड दिने धम्की दिएको भन्दै ट्वीटरले उक्त ट्वीट हटाएको थियो ।
“ट्वीटरले नाइजेरियाको राष्ट्रिय संस्कृति र इतिहासलाई पूर्णतः पालना गर्दै काम गर्न सहमति जनाएको छ,” राष्ट्रिय सूचना प्रविधि विकास एजेन्सीका महाप्रबन्धक काशिफु इनुवा अब्दुल्लाहीले भनेका छन्, “यसैअनुसार संघीय सरकारले नाइजेरियामा ट्वीटर प्रतिबन्ध फुकुवा गरेको हो ।”
अल जजिराबाट
Categorized in अन्तर्राष्ट्रिय