arin enterprises

१६ वर्षअघि कारागारबाट फरार भएका दुई प्रतिवादी पक्राउ

SamacharDesk – बिकाश | २०७७ भाद्र १७, बुधबार

१६ वर्ष अघि कारागारबाट भागी फरार रहेका फरक फरक मुद्दाका दुइ प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । 

डाँका चोरी मुद्दाका कैलाली जिल्ला गौरिगंगा नगरपालिका २ बस्ने ६२ वर्षीय चुलुवा चौधरी र कर्तव्य ज्यान मुद्दाका कैलारी गाउँपालीका ५ बस्ने ४८ वर्षीय पुरण प्रसाद कुमाल पक्राउ परेका हुन ।  

चौधरीलाई आफ्नै घरमा लुकिछिपि बसेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको हो । 

चौधरीलाई डाँका चोरी मुद्दामा जिल्ला अदालत कैलालीको २०६६ असार २ गतेको फैसलाले ६ वर्ष कैद र ४ हजार १ सय ४७ रुपैयाँ ६५ पैसा जरिवाना तोकिएको थियो ।

जिल्ला अदालत कैलालीको फैसला पुनरावेदन अदालत दिपायलबाट समेत सदर भएको थियो ।   

गौरिगंगा नगरपालिका २ स्थित स्थानीयको घरमा २०५८ माघ ४ गते राति हातहतियार सहित आएको समूहले नगद तथा धनमाल डाँका चोरी गरी फरार भएको घटनामा संलग्न चौधरीलाई पक्राउ गरिएको थियो ।

अनुसन्धान पश्चात जिल्ला अदालतमा पेश गरी अदालतको आदेशले पुर्पक्षका लागि कारागार कार्यालय कैलालीमा पठाइएका उनी २०६१ माघ २७ गते कारागारबाट भागी फरार भएका थिए । 

चौधरीलाई आवश्यक कारबाहीका लागि मंगलबार कैलाली जिल्ला अदालत पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

त्यस्तै, कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत कैलालीको २०६५ जेठ २० गतेको फैसलाले सर्वस्व सहित जन्म कैद भई फरार रहेका कुमाललाई सोमबार उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो । 

कैलारी गाउँपालिका ५ बस्ने २३ वर्षीय राम बहादुर कुमाललाई घरमा एक्लै सुतेको अवस्थामा २०६१ कात्तिक ७ गते राति धारिलो हतियार प्रयोग गरी हत्या गरेको घटनामा पुरण प्रसादलाई पक्राउ गरिएको थियो ।

कैलाली जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि कारागार कार्यालय कैलालीमा पठाएकोमा २०६१ माघ २७ गते उनी कारागारबाट भागेर फरार भएका थिए । 

जिल्ला अदालत कैलालीको फैसला पुनरावेदन अदालत दिपायल र सर्वोच्च अदालतबाट समेत सदर भएको थियो ।

कुमाललाई आवश्यक कारबाहीका लागि कैलाली जिल्ला अदालत पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Categorized in अपराध