arin enterprises

विपद्सँगै बाँच्न सिक्नुपर्नेमा विज्ञहरको जोड

SamacharDesk – विकाश | २०७७ जेठ १५, बिहिबार

कल्प एकेडेमी सुशासन र दीगो विकास केन्द्रले कान्तिपुर सिटी कलेजसँगको सहकार्यमा सुशासनमार्फत् इ–शिक्षा प्रवद्र्धन गर्ने उद्देश्यले वेभिनार शृङ्खला सुरु गरेको छ । 

विद्यमान कोभिड–१९ महामारीलाई सम्बोधन गर्ने उक्त शृङ्खलाको पहिलो कार्यक्रम विपद् जोखिम व्यवस्थापनमा केन्द्रित थियो । 

कार्यक्रममा प्रमुख वक्ता सञ्चारविज्ञ प्राध्यापक रामकृष्ण रेग्मीले यस कोभिड–१९ तथा यसले निम्त्याएका अन्य परिस्थितिसँग प्रभावकारी रूपमा जुझ्न सुशासन महत्त्वपूर्ण रहेको जनाए । 

उनले तीनै तहका सरकारले यस महामारी तथा अन्य विपद्का विरुद्ध पूर्वतयारीको संस्कृति प्रवद्र्धनको समन्वयात्मक भूमिका खेल्नुपर्नेमा जोड दिए । 

बृहत्तर रूपमा इ–शिक्षाका लागि साथै कोभिड–१९ जस्ता विपद् अवस्थामा सबै सरोकारवालाले भूमिका खेल्ने उचित वातावरण तयार गर्न सुशासन प्रवद्र्धन गर्नेमा वेभिनार केन्द्रित रहेको छ ।

कार्यक्रमका अर्का वक्ता रतिन्द्र खत्री क्षेत्रीले ४५ सालको भूकम्प, सन् २०१० को हाइटी भूकम्प र ७२ को भूकम्पलगायतमा प्रत्यक्ष स्थलगत कार्य अनुभवबारे बताए । 

‘कोभिड–१९ का लागि विश्वका कुनै पनि देश तयार रहेको थिएन । विपद् व्यवस्थापनसम्बन्धी कानूनी र संरचनागत प्रावधानको प्रभावकारी उपयोग गर्नमा लाग्नुपर्ने देखिन्छ’ क्षेत्रीले भने । 

विपद्सम्बन्धी विज्ञ सिभिल इन्जिनियर डा. दीपक विक्रम थापा क्षेत्रीले विपद् नेपालीको जीवनको अङ्ग बनिसकेको बताउँदै यससँगै बाँच्न सिक्नुपर्नेमा जोड दिए । ताइवान र ७२ को भूकम्पबाट पाठ सिक्दै त्यसलाई हाम्रो र समुदायको सुरक्षामा प्रयोग गर्नुपर्ने उनले बताए ।

त्यसपछिको छलफलमा पनि स्थानीय तहलाई कोभिड–१९ महामारी तथा कुनै पनि विपद्विरुद्ध सबल, सशक्त र क्षमता अभिवृद्धि बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ । 

कल्प एकेडेमीका अध्यक्ष डा. प्रल्हाद कार्कीले आफ्नो मन्तव्यमा यस किसिमका छलफलले विपद् व्यवस्थापनमा सुशासन सुनिश्चित गर्न मद्दत गर्छ । 

कार्यक्रमका सहजकर्ता आभास धरानन्द राजोपाध्यायले सुशासन र यसका विषयमा ज्ञान अहिलेको महामारीमा सहयोगी हुने बताएका छन् । 

कार्यक्रममा नेपाल र बाहिरबाट ११८ जनाले सहभागिता जनाएका छन् । कार्यक्रमलाई संयुक्त राष्ट्रसंघ दीगो विकास सञ्जाल र एसडिजी एकेडेमीले सहयोग गरेको थियो । 

Categorized in समाज