सेतो मच्छिन्द्रनाथ (जनबहाःद्यः) को जात्रा सुरु हुँदै
SamacharDesk – बिराज | २०८१ बैशाख ४, मंगलबार

वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको जात्रा अहिले केही बेरमा सुरु हुँदैछ । अहिले करीब ५ बजेतिरको समयमा सेतो मच्छिन्द्रनाथको मूर्तिलाई सानो खटमा राखेर बोकी जमल तीनधारा पाठशाला लगिएको छ ।
जमलको यहि तीनधारा पाठशाला रहेको स्थानमै सेतो मच्छिन्द्रनाथको मूर्ति खेत खन्ने क्रममा भेट्टिएको जनविश्वास रहेको छ ।
सेतो मच्छिन्द्रनाथलाई खटमा विराजमान गराई बोकेर बाजागाजासहित जनबहालबाट निकाली इन्द्रचोक भेडासिंह, बाङ्गेमुढा, न्हायकंटोल, असन हुँदै जमलतिर लगिएको हो ।
खट जमल पुगेपछि सेतो मच्छिन्द्रनाथलाई रथमा विराजमान गराइनेछ र यस वर्षको रथ जात्रा सुरु हुनेछ ।
आज जात्राको पहिलो दिन सेतो मच्छिन्द्रनाथको रथलाई जमल तीनधारा पाठशालाबाट त्रिचन्द्र कलेज हुँदै रत्नपार्क, भोटाहिति हुँदै असनमा पुर्याइनेछ ।
आजै बेलुकी राष्ट्रप्रमुखको हैसियतले राष्ट्रपति रामचन्द्र पौडेलबाट असन पुगी सेतो मच्छिन्द्रनाथको दर्शन र प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
भोलि रथलाई असनबाट हनुमानढोका कालभैरव अगाडी लगिनेछ भने पर्सि लगन पुर्याइनेछ ।
सेतो मच्छिन्द्रनाथको रथ जात्रा विना कुनै विघ्नबाधा सफलतापूर्वक सम्पन्न भए समयमा राम्ररी वर्षा भई खेतमा बाली राम्रो सप्रिने विश्वास गरिन्छ ।
सेतो मच्छिन्द्रनाथलाई स्थानीय जनसमुदायमा जनबहाःद्यः भनिन्छ भने करुणामय, आर्यावलोकितेश्वर आदि नामले पनि चिन्ने गरिन्छ ।
Categorized in संस्कृति