arin enterprises

कोरोना भाईरस उत्पत्तिलाई लिएर डब्लुएचओको प्रतिवेदन आयो

SamacharDesk – बिकाश | २०७७ चैत्र १९, बिहिबार

कोरोना भाईरसलाई लिएर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को टोलीले गरेको अध्ययनको प्रतिवेदन सार्वजनिक भएको छ । डब्लुएचओको टोलीले चाइनामा गएर गरेको अध्ययनको प्रतिवेदन सार्वजनिक भएको बीबीसीले जनाएको छ ।

डब्लुएचओका महानिर्देशक डा. टेड्रोस एडहानोम गेब्रेयेसुसले यो प्रतिवेदन एउटा राम्रो शुरुवात भएको तर अन्त नभएको बताएका छन् । भाईरसको श्रोतको बारेमा महत्वपूर्ण जानकारी प्राप्त भएको महानिर्देशक डा. गेब्रेयेसुसले जनाएका छन् ।

प्रतिवेदनले भाईरसको उत्पत्तिलाई लिएर चार वटा निष्कर्ष निकालेको छ ।

१२० पृष्ठको प्रतिवेदनले कोरोना भाईरस जीवजन्तुको माध्यमबाट मान्छेसम्म पुगेको ठोस प्रमाण भेटिएको दावी गरेको छ । यद्यपि कुन जीवबाट भन्ने कुरा भने खुलेको छैन ।

साथै जीवजन्तुबाट मान्छेसम्म भाईरस पुग्नु अघि अन्य कुनै जीवजन्तुमा यो भाईरस सरेको सम्भावना पनि प्रतिवेदनले देखाएको छ ।

कोरोना भाईरस खाना अथवा खाना राखिने भाँडाकुडाबाट मान्छेसम्म पुगेको सम्भावना पनि देखाइएको छ । यस्ता खानामा फ्रोजन खाना समावेश छ ।

प्रतिवेदनले कसैले जानाजानी प्रयोगशालाबाट भाईरस फैलाएको दावीलाई भने विश्लेषण नगरेको जनाएको छ । प्रयोगशालामा भएको कुनै दुर्घटनाबाट यो भाईरस त्यहाँका कार्यरत कर्मचारीहरुमा फैलिएको हुनसक्ने सम्भावना भने देखाएको छ ।

डिसेम्बर २०१९ भन्दा अघि कुनै पनि प्रयोगशालामा सार्व कोभ–२ सँग सम्वन्धित भाईरस अथवा सार्स कोभ–२ बनाउने नमूनाको रेकर्ड नभेटिएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

डब्लुएचओको टोली गत जनवरीको अन्ततिर चाइनमा गएर त्यहाँका अस्पताल, बजार र प्रयोगशालाको भ्रमण गरेका थिए । टोलीले दक्षिण चीनको बजारमा आपूर्ति गर्ने खेतहरुबाट लिएको नमूनाको विश्लेषण गर्नुका साथै अन्य देशहरुको अध्ययनको पनि समीक्षा गरेको थियो ।

Categorized in विज्ञान-प्रविधी