WNO ले शाक्यलाई संरक्षक पदबाट हटायो
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८१ आषाढ २९, शुक्रबार

विश्वभरी छरिएर रहेका नेवाःहरुको छाता संगठन विश्व नेवाः संगठन (World Newa Organization-WNO) ले संस्थाका संरक्षक दयारत्न शाक्यलाई पदबाट हटाएको छ ।
संस्थाको बारे गलत सूचना प्रवाह गरेको र संस्थाविरुद्ध भ्रम श्रृजना गर्ने काम गरेको भन्दै संगठनले शाक्यलाई संरक्षक पदबाट हटाएको हो ।
संगठनका केन्द्रीय अध्यक्ष संयुक्त श्रेष्ठले शाक्यको नाममा एक पत्र काट्दै उनलाई संस्थाको पदबाट हटाइएको जानकारी गराएका हुन् ।
‘हाम्रो संस्कृति र भाषा सम्वन्धि तपाईँको ज्ञानको हामी कदर गर्छौं तर, संगठनको परियोजना एवम् त्यसमा संलग्न व्यक्तिहरु विरुद्ध तपाईँले सार्वजनिक रुपले बोल्दै हिँड्नुभएको कुरा कदापि स्वीकार्य छैन’ पत्रमा लेखिएको छ ।
आफुहरुलाई शाक्यबाट मार्गदर्शन र आवश्यक निर्देशनको अपेक्षा रहेको तर समय समयमा आफुहरुको अपेक्षा विपरित निराश नै बनाएको पत्रमा लेखिएको छ ।
यस पत्र अघि संगठनले शाक्यको नाममा चेतावनीसहित एक पत्र दिएको थियो । २२ अप्रिलमा दिइएको उक्त पत्र पछि पनि शाक्यको व्यवहारमा कुनै परिवर्तन नभएको भन्दै संगठनले २६ जुनमा अर्को पत्र काट्दै शाक्यलाई संरक्षक पदबाट हटाएको हो ।
